राजनीति

बरिष्ठ नेता पौडेलको टिप्पणीः मुलुकको राजनीति झन रहस्यमय बाटोतिर जाँदै छ

३१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय मुलुकको राजनीतिक अवस्था झनै रहस्यमय हुँदै गएको टिप्पणी गरेका छन् । उनले संसद भवनमा कोरोनाको दोस्रो खोपको डोज लगाएर फर्किने क्रममा अझैपनि प्रतिनिधि सभा बिघटन हुने सम्भावना जारी रहेको दाबी गर्दै कोरोनाको समस्या जारी रहेको बेला जनताको स्वास्थ्यको चिन्ताको बिषय आफूलाई भएको बताए ।
नेता पौडेलले भने, ‘झन रहस्यमय बाटोतिर जाँदै छ । धेरै संशयका कुराहरु छन् । पहिलो कुरो त संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसदले पूरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । जनताले बाँच्न पाउँछ कि पाउँदैन ।’
आज प्रधानमन्त्रीमा केपी शर्मा ओलीले तेस्रो प्रधानमन्त्रीमा सपथ खाएका बेला नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेलले उक्त राजनीतिक अवस्था बताउनु राजनीतिक रुपमा अर्थपूर्ण लिनुपर्छ भन्ने टिप्पणी हुन थालेको छ ।