पु.समाचार

बाँकेमामात्र कोरोनाका कारण भयो ३७६ जनाको निधन

३० बैसाख, काठमाडौं । बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३७६ जनाको ज्यान गएको छ । बाँकेका २१३ जना र बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका १६३ गरी आजसम्म ३७६ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार २०७७ साल जेठ ३ गतेदेखि मृत्युको सिलसिला शुरु भएको भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि धेरैले ज्यान गुमाएका छन् । पछिल्लो दिनमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा बाँके र बाहिरी जिल्लाका १२ देखि १७ जना सङ्क्रमितको उपचारकै क्रममा एकैदिन मृत्यु हुने गरेको छ ।

पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका साथै कर्णाली र सुदूरपश्चिम जिल्लाका अस्पतालबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी प्रेषण भई आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।

पछिल्लो पटक गएराती बाँके, बर्दिया र दाङका गरी थप नौ जना कोरोना सङ्क्रमितको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ निवासी ४३ वर्षीया महिला, बर्दिया राजापुर नगरपालिका वडा नं ६ निवासी ५६ वर्षीया महिला र बर्दिया गुलरिया नगरपालिका वडा नं निवासी ३२ वर्षीया महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी ४३ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका वडा नं ६ निवासी ६४ वर्षीय पुरुष, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ५ निवासी ३५ वर्षीया महिला, डुडुवा गाउँपालिका वडा नं ३ बाँके निवासी ५० वर्षीया महिला, नरैनापुर गाउँपालिका वडा नं ५ बाँके निवासी ४२ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ निवासी ७५ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।

पाल्पाका होटल आइसोलेशन

कोरोनाको दोस्रो लहर फैलिँदै जान थालेपछि पाल्पाका होटललाई आइसोलेशन बनाउन थालिएको छ । गाउँगाउँमा सङ्क्रमण बढ्दै गएको अवस्थामा आइसोलेशनको अभावमा कोही नागरिकले मृत्युवरण गर्न नपरोस् भनी होटललाई आइसोलेशन बनाइएको पाल्पा होटल तथा रेष्टुराँ व्यवसायी समितीका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम समितीले अनुमती दिएपछि होटललाई आइसोलेशन बनाइएको श्रेष्ठले बताए । सङ्क्रमितलाई अक्सिजन सहितको खाना, खाजा तथा अन्य सेवाका लागि होटलमा दुई जना बसोबास गरेवापत दैनिक प्रतिव्यक्ति रु दुई हजार र एक जनाका लागि तीन हजार शुल्क कायम गरिएको छ ।

जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा बढी सदरमुकाम तानसेनमा कोरोना सङ्क्रमणको दर बढ्दो छ । तानसेनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले पहिलो चरणमा होटल अन्नपूर्ण, मोनिका गेष्टहाउस, सिम्रिक, ताज, श्रीनगरमा आइसोलेशन सञ्चालन गरिएको छ । पहिलो चरणमा तयार पारिएका होटल आइसोलेशनमा तीन सय शय्या छ भने आवश्यकताअनुसार थप गर्दै जाने समितिले जनाएको छ ।

कोरोना परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा

सञ्चालनमा आएको पाँच महिनामै बन्द भएको गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएका छन् । जिल्लाका पालिकाहरूको आर्थिक सहयोगमा बुधबारदेखि प्रयोगशाला सञ्चालनमा आएको हो ।

गत वर्षको असोज १ गतेदेखि सञ्चालनमा आएको प्रयोगशाला स्थानीय तहहरूले कबुल गरेको रकम नदिँदा फागुन ८ गतेदेखि बन्द भएको थियो । अहिले पालिकाहरूले कबुल गरेको र अन्य थप रकमसमेत सहयोग गरेपछि बन्द भएको झण्डै अढाई महिनापछि परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको जिल्ला समन्वय समिति प्रमुख एवम् तम्घास अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्षमण पराजुलीले जानकारी दिए ।

अहिले प्रत्येक गाउँपालिकाले दुई÷दुई लाख तथा नगरपालिकाले तीन÷तीन लाख गरी कुल रु २६ लाख रकम सङ्कलन भएपछि प्रयोगशाला सञ्चालनमा आएको पराजुलीले जानकारी दिए । प्रयोगशाला तम्घास अस्पताल मातहत रहेर सञ्चालन हुनेछ । पहिले प्रयोगशालामा काम गरेका केही कर्मचारीले कोभिड भत्ता र केहीले तलब–भत्ता नै पाएका थिएनन् । अब केही दिनभित्रै भत्ता र तलब पाउने सहमती भएपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालामा दैनिक तीन सयसम्म स्वाब परीक्षण गर्न सकिने भण्डारीले बताए ।