राजनीति

कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण नेपालको अवस्था विकराल: बरिष्ठ नेता पौडेल

३० बैसाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवन रक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गरेका हुन् । नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेकामा चिन्ता पनि व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्ः कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण नेपालको अवस्था अहिले विकराल बन्दै गएको छ । अक्सिनज, आइसीयु, भेण्टिलेटर, साधारण शैया, आइसोलेसन, होल्डीङसेण्टरसहित आवश्यक जनशक्ति र स्वास्थ्य सेवा पूर्वाधारको अभावमा दोस्रो लहरको कोरोना महामारीले मुलुकको अहिलेको दुरावस्था उत्कर्षमा पुगेको छ । हामी अहिले आफ्नो स्वास्थ्य संरचना धान्न नसक्ने अवस्थामा पुगेका छौ । अक्सिजन र अस्पतालको अभावमा संक्रमितहरुले उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सैयौँ छ । अत्यावश्यक औषधि, खोप, स्वास्थ्य सामग्री, पिपिई, सिलिण्डर सहितको अक्सिजन, भेण्टिलेटर र अन्य सामग्री जुटाएर यो विकराल अवस्थाबाट नेपाललाई जोगाउनका लागि म हाम्रा मित्र राष्ट्र, विदेशस्थित नेपाली नियोगहरु, नेपालका रहेका विदेशी नियोगहरु, दातृ निकायहरु, गैरआवासिय नेपाली संघ, नेपाली जनसम्पर्क समितिहरु, सहयोगी भावना भएका देशहरु तथा नागरिकहरुलाई हार्दिक अपिल गर्दछु । नेपाल अहिले देखिएको कोरोनाको संक्रमणबाट आफ्नै बल बुताले पार पाउने अवस्थामा नभएकाले नेपाली जनताको जीवन रक्षाका लागि मानवियताका आधारमा नेपाल र नेपालीलाई सहयोग गर्नका लागि म हार्दिक अपिल गर्दछु ।।
जय नेपाल !