समाचार

वडास्तरमै कोरोना परीक्षण, कोभिडविरुद्ध स्वयंसेवक दस्ता

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले प्रत्येक वडामा नमूना स्वाब स¬ङ्कलन (कोरोना परीक्षण) शुरु गरेको छ । नगरपालिकाले वडामा घुम्ती स्वाब सङ्कलन केन्द्रमार्फत नमूना स्वाब सङ्कलन गरिरहेका जनाएको छ ।

नगरले आफ्नो नमूना स्वाब सङ्कलन अभियानमा कोरोनासँग लक्षण मिल्नेजस्तै, ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने भएकालाई घुम्ती स्वाब सङ्कलन केन्द्रमा आउन अपिल गरेको छ । “सबै वडामा नमूना स्वाब सङ्कलन गर्दैछौँ, यसले समुदायस्तरमा कोरोनाको फैलावट तथा कोरोनाका बिरामी पत्ता लगाउन मद्दत पुग्छ”, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार बुधबार ९ नं वडाबाट थालिएको अभियानमा ३५ स्वाब सङ्कलन गरिएको थियो ।

पाँचखालमा कोरोनाको दोस्रो लहर शुरु भएयता हालसम्म ६० महिलासहित १०८ सङ्क्रमित छन् । सोमध्ये नगरको आइसोलेशनमा तीन, अस्पताल आइसोलेशनमा छ र होमआइसोलेशनमा ८६ सङ्क्रमित रहेका छन् । नगरप्रमुख खरेलले नगरका कोरोना सङ्क्रमित अतिविपन्न नागरिकलाई उपचार खर्चवापत हालै मात्र रु १० हजार घोषणा गरेका छन् छ भने आफ्नो निजी गाडीसहित नगरका अन्य तीन गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सहमति दिएको छ ।

चौँरीदेउराली गाउँपालिकाले भने स्थानीय युवाले कोभिडविरुद्ध स्वयंसेवक दस्ता निर्माण गरेका छन् । युवाले ‘एन्टी कोभिड भोलेन्टिएर टिम’ नाम दिएर नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी गाउँपालिकाको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा उपचारको अभियानलाई सहजीकरण गर्नेछन् । “स्थानीयवासीको स्वास्थ्य समस्याबारे चासो दिँदै कोरोनाका बिरामीको उपचारलगायतमा स्वास्थ्यकर्मीलाई सघाउनेछौँ”, दस्ता संयोजक अञ्जित गौतमले भने ।

गौतमका अनुसार दस्ताले कोरोना सङ्क्रमितको मृत्यु भएमा सावधानीपूर्वक दाहसंस्कार गर्नसमेत सहयोग गर्नेछ । स्वयंसेवक दस्ता गाउँपालिकाका नौवटै वडामा गठन गरी परिचालन गर्न लागिएको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले पनि आज एक विज्ञप्ति जारी गर्दै भीडभाड हुने गतिविधि बन्द गर्न र अत्यावश्यकमा मात्रै १० जनाभन्दा बढी जम्मा हुन अनुरोध गरेका छन् । साथै स्थानीयवासीलाई स्वास्थ्य समस्या भए स्वयंसेवक दस्ता तथा स्थानीय सुरक्षा संयन्त्रलाई जानकारी गराउन अपिल गरिएको छ । चौँरीदेउरालीमा हाल ११ पुरुषसहित १४ कोरोना सङ्क्रमित छन् ।

यसैबीच जिल्लामा पछिल्लो २४ घण्टामा १४६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिन हालसम्मको सबैभन्दा बढी १९२ मा कोरोना सङ्क्रमण थपिएका थिए । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म जिल्लाका कूल एक हजार ५१८ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ६०६, धुलिखेलमा ३१०, पनौतीमा ३०५, पाँचखालमा १०८, नमोबुद्धमा ५५, मण्डनदेउपुरमा ५२ तथा रोशी गाउँपालिकामा १८, चौँरीदेउरालीमा १४, तेमालमा १०, भुम्लु २६, खानीखोलामा दुई, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा चार सक्रिय सङ्क्रमित छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरपालिकामा ३९ दशमलव ९२ प्रतिशत सङ्क्रमित रहेका छन् । हालसम्म जिल्लामा ६८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।