साहित्य

आमा! मलाई माफ गर!!

-गुरुराज घिमिरे                                                        -कविता

अफसोच!
मैले आजसम्म कसैलाई पनि
लोकतन्त्र बुझाउन सकिन
मेरो अधिकार उसलाई सुम्पेर
ऊ बाट म आफू
सुरक्षित हुन्छु।
ठानेको थिएँ,
मेरो घरबारीमा ब्वाँसो पस्दा
लोकतन्त्रले रखवारी गर्ला
बिडम्वना!
उसले त मेरो घरमा
सप्रेको चितुवा पो पठायो
रोगले सताउँदा,भोकले तड्पिंदा
मेरो छहारी होला।
ठानेको थिएँ,
म बिरामी पर्दा
उसले डाक्टर पठाउला
तर थाहा छ!
उसले त चित्रगुप्त पो पठायो
म रुँदा खुशी पठाउला
मेरो निराशामा उत्साह पठाउला
मेरो सुस्केरामा सान्त्वना पठाउला
गरीबीमा समृद्धि पठाउला
थाहा छ,आमा
उसले असह्य वेदना पो पठायो
पीडा,दुःख र चिन्ता पठायो
कस्तो लोकतन्त्र ल्याँएछु आमा!
मनका कुरा नखोल भन्छ
लागेका कुरा नबोल भन्छ
उसको खुशी नबिथोल भन्छ
माफ गर आमा
मैले मेरो लोकतन्त्र बुझाउन सकिन
थाहा छ नि आमा
तिमी रोगले निस्लोठ हुँदा
मैले भनेको थिएँ
मेरो लोकतन्त्र छ नि
तिम्रो रखवारी गर्ने
थाहा छ१ उसले त तिमीलाई
अकाल मृत्यु पो दियो
तिमीले मृत्यु शैय्याबाट पानी माग्दा
जहरिलो बीष पो दियो
र तिम्रो तडपमा उत्सव मनायो
मेरो रोग र तिम्रो मृत्यु
उसका लागि महोत्सव बन्यो
माफ गर आमा
मैले मेरो लोकतन्त्र
कसैगरी कसैलाई पनि
बुझाउनैं सकिन !
(मृत्युसँगको साक्षात्कार, कविता संग्रहबाट)