समाचार

दमौली अस्पतालले शुरु ग¥यो कोभिड सङ्क्रमितको उपचार

भारत

दमौली । दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो । अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले जानकारी दिए । उनका अनुसार चार व्यास नगरपालिका र एक म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित निमोनियापीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ ।

“सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उनीहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ”, डा पौडेलले भने । उनका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । अहिलेको अवस्थामा उक्त शय्या आजै भरिनेजस्तो देखिएको डा पौडेलले बताए । अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो । उक्त ठाउँमा शय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शय्या यसअघि नै तयार गरिसकेको छ ।

जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण

तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो ।

हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका लागि गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। बन्दीपुरमा हाल एउटा जीर्ण अवस्थामा रहेको एम्बुलेन्स छ । “पुरानो भएकाले जुनसुकै बेला पनि धोका हुनसक्छ, त्यही भएर पूर्वतयारीस्वरूप हामीले नै चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनायौँ”, थापाले भने ।

गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि दुईपटक सूचना आह्वान गरेको थियो तर त्यो अवधिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न सकेन । “एम्बुलेन्स किन्न सूचना निकाल्याँै, तर एम्बुलेन्स नै पाइएन”, उनले भने । कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले बन्दीपुर अस्पतालमा १५ शय्याको आइसोलेशनसमेत तयार पारिसकेको छ । आइसोलेशनमा हाल १० थान अक्सिजन सिलिण्डर मौज्दात छ भने प्रहरीले डुम्रेबाट सङ्कलन गरेको १० थान सिलिण्डर पनि प्राप्त भएको छ । “बन्दीपुर गाउँपालिका कोभिड सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा छ”, थापाले भने ।