समाचार

कुम्लिक सामुदायिक स्वास्थ्य एकाइमा शुद्ध पानीको अभाव

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ मा रहेको कुम्लिक सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी भइसक्दा पनि खानेपानीको व्यवस्था नहुँदा शुद्ध पिउने पानीबाट कर्मचारी र सेवाग्राही वञ्चित हुनुपरेको छ ।

दैनिकजसो उपचार गर्न आउने बिरामीका लागि र सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीका लागि खानेपानी नभएपछि शुद्ध खानेपानीबाट वञ्चित हुनुपरेको सोही संस्थाका अनमी उषा भण्डारीले गुनासो गरिन । उनले भनिन्, “दैनिक आएका बिरामीको घाउ सफा गर्न तथा अन्य कामका लागि पानी चाहिन्छ तर खोलाको पानी ल्याएर प्रयोग गर्नुपरेको छ ।” कर्मचारीलाई शुद्ध खानेपानी नभएपछि हाल दोजामखोलाबाट आउने धमिलो पानी पिउनुका साथै प्रयोग गर्नुपरेको बताइन ।

“स्वास्थ्य संस्थामा पानी ल्याएको भए यतिखेर खोलाको धमिलो पानी खानु पर्दैनथ्यो”, अनमी भण्डारीले भनिन् । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीलाई समेत खानेपानीको व्यवस्था हुन सकेको छैन । उक्त स्वास्थ्य संस्थाका लागि पटक–पटक पानीको व्यवस्थाका लागि सिमकोट गाउँपालिका र प्रदेश सरकारलाई अनुरोध गर्दासमेत सुनुवाइ नभएको बताइएको छ ।