कृषि

कोरोना कालमा पुनः जुर्मुराए गुर्जो–अभियानकर्मी युवा

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट उच्च जोखिम बढ्दै गएपछि बनेपाका गुर्जो–अभियानकर्मी युवा पुनः जुर्मुराएका छन् । गत सालको कोरोना कहरमा कोरोनाका बिरामी तथा संस्थागतरूपमा बहुउपयोगी रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो निःशुल्क वितरण गर्दै आएको उक्त युवा समूहले कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएलगत्तै गुर्जो वितरण अभियानलाई पुनः निरन्तरता दिएका हुन् ।

अभियानको नेतृत्व गर्नुभएका बनेपा नगरपालिका–१० जनागालका युवा मुक्ति विष्टलाई हाल काभ्रेपलाञ्चोकका थुपै्र युवाले साथ दिइरहेका छन् । स्थानीय युवाले गुर्जो सङ्कलनमा साथ दिइरहेका छन् भने वितरणमा बनेपाका युवाले साथ दिइरहेको विष्टले बताए । “बितेको तीन हप्तामा करिब एक हजार ५०० किलो वितरण गरिसकेका छौँ, हाम्रो अभियान जारी छ”, उनले भने । उनले हाल संस्थागतरूपमा आइसोलेशन, स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, प्रहरी, अस्पताललगायतका स्वास्थ्य संस्था तथा व्यक्तिलाई वितरण भइरहेको बताए ।

कोरोनाका बिरामीका आफन्तले सम्पर्क गरी जनागालस्थित गुर्जो भण्डार केन्द्रबाट लैजाने गरेको विष्टले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष गुर्जो खाएका व्यक्तिले यस वर्ष पनि लगिरहेका छन् । दोस्रो लहरको कोरानाले जिल्लामा निकैलाई सङ्क्रमण फैलाएकाले आफू पनि अभियानको सहयोगी भएको भक्तपुर भङ्गालका कृष्णराम कार्कीले बताए । “म यस वर्ष गुर्जो वितरण अभियानमा साथ दिइरहेको छु, विशेषगरी गुर्जो सङ्कलनमा मेरो सहयोग रहेको छ”, उनले भने । देवीटारका उद्धव चौलागाईँ, धुलिखेलस्थित पातलेखेतका विष्णु काभ्रेली, पनौतीका सौगात बस्नेत, बनेपाका हरिशरण सूर्यवंशी, कान्छा प्रधानलगायतले गुर्जाे अभियानलाई साथ दिइरहेको छ ।

अभियानकर्मीको हालको दिनचर्या आफैँ स्वास्थ्य सतर्कता अपनाउँदै गुर्जो सङ्कलन र वितरणको योजना बनाउँदै व्यस्त रहन्छ । टोलीलाई अहिले गाउँगाउँबाट गुर्जो लिन आउन खबर आइरहेको छ । विष्टले वितरण मात्र नभई गुर्जोको फाइदाबारे र गुर्जो खेतीबारे पनि सिकाउँदै आएको बताए ।