पु.समाचार

कोरोनाबाट बाँके र बर्दियामा थप १५ को मृत्यु, व्यवस्थापनमा स्थानीय तहको बढ्दो सक्रियता

२८ बैसाख, बाँके । कोरोना सङ्क्रमणका बिरामी बढेसँगै बर्दियाका विभिन्न स्थानीय तहहरु धमाधम आइसोलेशन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिएपछि बर्दियाका नगरपालिका र गाउँपालिकाहरु आइसोलेशन व्यवस्थापन गर्न सक्रिय भएका हुन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा आधारभूत नगर अस्पताल भुरिगाँउमा रहेको पाँच शय्याबाट कोभिडका बिमारीको उपचार हुँदै आईरहेकामा थप १५ शय्या र अक्सिजन सिलिण्डरसहित २० शय्याको अस्थायी कोभिड अस्पताल वडा नं २ को रानीपुरमा शुरूआत गरेको ठाकुरबाबा नगरपालिकाको उपमेयर कृष्णकुुस्मा थारुले जानकारी दिईन् ।
उनले भनिन्, “नगरपालिकाका वासिन्दा कोरोना महामारीका कारण ठाकुरबाबा नगरपालिका पनि आक्रान्त बनेको छ । धेरै जनसमुदायहरू सङ्क्रमित भएका छन् ।” सङ्क्रमितहरूको उपचार, स्वास्थ्य सामग्री र अक्सिजन दुवानीलगायतका मानवीय कामका लागि प्रयोग गर्दै आएको उपप्रमुखको गाडी भे १ झ २८३ नम्बरको पिकअप गाडी पूर्ण रूपमा एम्बुलेन्सको काममा प्रयोग हुने गरी उपलब्ध गराइएको उनले बताईन् ।
त्यसैगरी बारबर्दियामा नगरपालिकामा २२ शय्याको आइसोलेसन केन्द्र स्थापना गरिएको छ भने मधुवन नगरपालिकामा १५ शय्याको आइसोलेसन केन्द्र स्थापना भएको छ । सीमित जनशक्ति रुपमा परिचालन गरी आइसोलेशनमा बस्ने बिरामीको सेवा प्रभावकारी बनाउन दुई पालिकाले सक्रियता देखाएका छन् । आइसोलेशनका सबै शय्यामा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । दुबै पालिकाबाट चिकित्सक सक्रिय हुनेगरी खटिरहेका छन् ।
यसअघि बारबर्दियाको सो केन्द्रमा २२ शय्या मात्र व्यवस्थापन गरिएको थियो । हाल बारबर्दियाको सो केन्द्रमा १२ जनाको उपचार भइरहेको छ । मधुवन नगरपालिकामा पनि सङ्क्रमितको उपचारका लागि १५ शय्याको अक्सिजन सिलिण्डरसहितको आइसोलेसन केन्द्र व्यवस्थापन गरिरहेको नगरप्रमुख गणेश केसीले बताए । केन्द्रमा १५ शय्याको आइसोलेसन कक्ष व्यवस्थापन गरिरहेको छ । नगरपालिकाले आवश्यक औषधि र अक्सिजन सिलिण्डर खरीद गर्ने तयारी गरेको छ ।
त्यसैगरी गेरुवा गाउँपालिकाले कोरोना सङ्क्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिले स्वास्थ्यसम्बन्धी विषम परिस्थतिलाई ख्याल गर्दै गाउँपालिकाले प्रयोग गर्दै आएको गाउँपालिकाको स्कार्पियो गाडीलाई समेत जनसेवामा समर्पित गर्दै निःशुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जमानसिँह केसीले बताए ।
बर्दियामा मङ्गलबार जिल्लामा एक हजार ८९९ सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १३४१ पुगेको छ । निको हुनेमा ५३१ हल सम्ममा २७ जना मृत्यु भएको छ । सक्रिय सङ्क्रमित होमआइसोलेसनमा १२५१ रहेको स्वास्थ्य कार्यालये जनाएको छ । पाँच सय ३१ जना भने निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
कोरोनाबाट बाँके र बर्दियामा थप १५ को मृत्यु
कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप १५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीका अनुसार सोमबार दिउँसो ४.३० देखि आज बिहान ११ बजेसम्म मृत्यु हुनेमा बर्दियाका आठ, बाँकेका पाँच, रुकुम पूर्वका एक र कन्चनपुरका एकजना गरी १५ जना रहेका छन् ।
मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिकाका तीन जना छन् । बाँसगढी नगरपालिका­९ का ७३ वर्षिय पुरुष, वडा नं ५ का ६० वर्षिय पुरुष र वडा नखुलेका ४२ वर्षिय महिला रहेका छन् । त्यस्तै बढैयाताल गाउँपालिका–३ का ७८ वर्षिया महिला र वडा नं १ का ८५ वर्षिय पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै गुलरिया–६ का २१ वर्षिय पुरुष, बारबर्दिया–६ का ६३ वर्षीया महिला र ठाकुरबाबा­३ का ४५ वर्षका पुरुष गरी आज सबैभन्दा बढी बर्दियाका सङ्क्रमितको ज्यान गएको छ ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेका ६८ वर्षिय पुरुष, खजुरा गाउँपालिका–३ का ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका–४ का ४५ वर्षीया महिला, होम आइसोलेसनमा बसिरहेका खजुरा गाउँपालिका–२ का ८८ वर्षिय पुरुष र कोहलपुर नगरपालिका–८ का ६२ वर्षिय पुरुषको पनि कोरानाका कारण निधन भएको छ ।
यसैगरी सिस्ने गाउँपालिका–३ रुकुम पुर्वका ५३ वर्षिय पुरुष र कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका­३ का ६१ वर्षिय पुरुषको समेत कोरोनाका कारण नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १५१ जना र बाँकेकै १९७ जनाले ज्यान गुमाइसकेका छन् ।