बाग्मती

दुई संक्रमितको ज्यान गएपछि अक्सिजन सिलिण्डर वितरण गर्दै प्रहरी

२६ बैसाख, भक्तपुर । कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई कोरोना सङ्क्रमितको ज्यान गएको प्रहरीमा खबर पुग्यो । अस्पतालमा भर्ना भएका अन्य २८ जना बिरामीलाई पनि अक्सिजन अभावले थप समस्या पार्ने खबर पाए लगत्तै प्रहरी सक्रिय भयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापाले अक्सिजन अभावले बिरामीको ज्यान गएको र अरु बिरामी पनि जोखिममा रहेको जानकारी पाए लगत्तै प्रहरीले सङ्कलन गरेको ठूला १२ वटा सिलिण्डर अक्सिजन तत्कालै अस्पताललाई पठाएर अरु बिरामीको ज्यान सुरक्षित गर्न सफल भयो ।
यतिखेर प्रहरी परिसर भक्तपुर शान्ति सुरक्षाका साथै जनताको सुरक्षाका लागि पनि सक्रिय भएको छ । प्रहरीले विभिन्न वर्कशप, जिमखाना र अक्सिजन सप्लायर्सलगायतका ठाउँबाट सङ्कलन गरेको अक्सिजनसहितको सिलिण्डर अस्पतालहरुलाई वितरण गरेको छ । प्रहरी उपरीक्षक थापाले भने, “कोरोनाबाट जोगिदै मानवीय सेवामा निरन्तर लागिरहेका छौँ ।”
प्रहरी परिसर भक्तपुरले भक्तपुर अस्पताललाई पाँच वटा अक्सिजनसहित र ५० वटा खाली गरी ५५ वटा सिलिण्डर र नेपाल­कोरिया मैत्री नगरपालिका अस्पताल थिमिलाई २५ वटा र अल्का अस्पताल ललितपुरलाई अक्सिजनसहितको तीन गरी ९५ वटा सिलिण्डर वितरण गरेको छ । अत्यावश्यक अवस्थाका लागि पाँच वटा अक्सिजनसहितको सिलिण्डर जगेडामा राखेको छ ।
केही दिन अगाडि पनि प्रहरीले “तपाइँको मास्क खै ?” भन्ने अभियान सञ्चालन गरेर मास्क नलगाएका व्यक्तिलाई मास्क वितरण गरेको थियो । प्रहरीले अहिले निषेधाज्ञाको उल्लङ्घन गरेर जथाभावी हिड्ने र सवारी साधन चलाउनेहरुलाई सडकमै जरिवाना लगाउने तथा होल्डिङमा राख्ने गरेको प्रहरी उपरीक्षक थापा बताउछन् ।
सङ्क्रमण रोग निवारण ऐनअन्तर्गत गत वर्षको निषेधाज्ञामा मास्क नलगाई हिँड्ने, बिना कारण घर बाहिर निस्किएर हिँड्ने र पास नभई जथाभावी हिँड्ने सवारी साधन गरी १६ हजारलाई कारबाही गरी सरकारलाई १६ लाख राजस्व बुझाएको थियो । यस वर्ष पनि बिना कारण घर बाहिर निस्किएर हिँड्ने र पास नभई जथाभावी हिँड्ने सवारी साधनलाई नियन्त्रणमा लिएर रु। १०० जरिवाना तिराउने गरेको प्रहरी उपरीक्षक थापाले बताए । प्रहरीले माइकबाट जनचेतना फैलाउने कार्यलाई पनि निरन्तरता दिएको छ ।
काममा खटिएका प्रहरीलाई कोरोना भाइरस सङ्क्रमणबाट जोगाउन सामुदायिक विद्यालयलाई समेत व्यारेक बनाएको छ । भक्तपुरको विद्यार्थी निकेतन मावि र श्रीपद्म माविमा प्रहरी व्यारेक बनाएको छ । परिसरभित्र रहेका प्रहरीलाई बाहिरका प्रहरीसँग सम्पर्क नगराउने र बाहिर काममा खटिएका प्रहरीलाई परिसरभित्र नराखी स्कुलमा बसेर त्यहीँबाट काममा जाने व्यवस्था गरेको छ ।
व्यारेकमा नबसी घर र कोठामा बस्ने प्रहरीहरुलाई भने परिसरबाट नभई बाहिरबाटै काममा खटिएर जाने गरी व्यवस्था गरिएको छ । प्रहरीलाई एकै पटक सङ्क्रमण नहोस् भनेर काममा खटिने विशेष व्यवस्था गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।