आर्थिक

हिमालयन डिस्टलरीको आ.व. २०७७/७८ को प्रगति विवरण सार्वजनिक

काठमाडौं । हिमालयन डिस्टलरीको आ.व. २०७७/७८ को चैत्र महिनासम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधि सम्मको कारोवार र यस वर्षको सोही अवधि सम्मको कारोवारलाई तुलना गर्दा गत वर्षको चैत्र मसान्त सम्ममा कुल विक्री रकम ३ अर्ब ५७ करोड भएकोमा यस वर्षको त्यसै अवधि सम्ममा ३ अर्ब ८९ करोड गर्न सफल भएको जनाएको छ।

हिमालयन डिस्टीलेरीले प्रेस विज्ञप्ति निकाल्दै गत वर्षको भन्दा ९ प्रतिशतले विक्री रकम बढेको बताएको छ । यसै गरि गत वर्षको यसै अवधिको खुद मुनाफा रकम ४३ करोड ७१ लाख भएकोमा यस वर्षको सोही अवधिमा ६७ करोड २७ लाख पुगेको विज्ञप्तिमा उल्लेख छ । यस खुद मुनाफालाई तुलना गर्दा गत वर्ष भन्दा ५३.८९ प्रतिशत वढि आर्जन गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरि गत आ.व. सम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरि पूँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तिय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रति शेयर आम्दानी १००.७६ बाट १०३.३८, तरलता अनुपात १.९६ बाट २.७४ भएको विज्ञप्तिमा उल्लेख छ । गत वर्ष प्राप्त कारोवार भन्दा यस वर्षको चैत्र मसान्त सम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप वजारीकरण, उत्पादित व्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता रहेको विज्ञप्तिमा उल्लेख छ ।