प्रदेश 1

हालसम्म आइसियू र अक्सिजनको अभाव छैनः बिएण्डसी

२५ बैसाख, काठमाडौं । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटर सहित आइसियू श्यया मध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी दशदिनभित्र प्लान्ट सुचारु हुने जनाएको छ ।

ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख छ । आज मात्र काठमाडौँस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय सङ्क्रमित दीपकराज आङदम्बेलार्ई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ । काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभावभएपछि ‘हवाई बेड लिफ्ट’ गरी सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार दाङ र पर्साका दुई सङ्क्रमितलाई सो बिएण्डसी अस्पतालमा लगिएको थियो ।

उनले विज्ञप्तिमा भनेका छन् “ कोरोना उपचारमा बिएण्डसी सरकारलाई सधै सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका सङ्क्रमितलाई उपचार गर्न भेन्टिलेटर सहित आइसियू तथा अक्सिजनको अभाव नरहेको छैन । ” अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ । उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ ।