लुम्बिनी

लुम्बिनीका पालिकामा ६० आइसोलेशन सञ्चालनमा

रुपन्देही । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन् ।

प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आ–आफ्ना पालिकामा अक्सिजन सिलिन्डरसहित आइसोलेशन निर्माण गरेका छन् । प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६० आइसोलेशन सेन्टर तयार गरेका छन् । ती आइसोलेशनमा एक हजार ८३ श्यया राखिएका छन् ।

अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा आठ, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच र प्यूठानमा आठ तथा रुकुम पूर्वमा एक आइसोलेशन सेन्टर सञ्चालनमा छन् । बाँकी जिल्लामा पनि आइसोलेशन निर्माणको तयारी गरिएको छ ।

प्रदेशको स्वास्थ्य आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेन्टरमा मात्रै ३४२ सङ्क्रमितको उपचार भइरहेको छ । यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेशन अस्पतालसहित १२ आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४३६ कोरोना सङ्क्रमित छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउन समुदायस्तरमा कोरोना परीक्षण गर्नाका साथै अक्सिजन बैंक सञ्चालन गरेको छ । नगरपालिकाले अहिलेसम्म अस्पतालमा श्यया नपाएका १२९ जनालाई अक्सिजन सिलिन्डरको व्यवस्था गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

अस्पतालमा बिरामीले भरिएपछि नगरपालिकामा अक्सिजनको माग धेरै भएको उनको भनाइ छ । “अस्पतालमा उपचार नपाएर तड्पिएका नगरवासीलाई सेवा दिन अक्सिजन बैंक सञ्चालन गरेका हौँ, यसले धेरैलाई राहत भएको छ, तर पर्याप्त ग्यास नहुँदा मागअनुसार दिन उपलब्ध गराउन सकेका छैनौँ”, उनले भने ।

जिल्ला प्रशासन कार्यालयले अस्पतालका लागि प्राथमिकता दिन ग्यास उद्योगलाई परिपत्र गरेपछि बैंकमा पर्याप्त अक्सिजन नभएको प्रवक्ता रेग्मीले बताए । नगरपालिकाले बुटवलको एन्फा एकेडेमीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ११ र १३ को भवनमा थप आइसोलेशन सेन्टर बनाउने तयारी गरेको छ ।

तिलोत्तमा नगरपालिकाले शङ्करनगरमा ४० श्यया क्षमताको एक तहको अस्पतालको सुविधा रहेको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ९ को केवलानीमा थप ६० श्ययाको आइसोलेशन सेन्टर बनाउन तयारी थालेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

तिलोत्तमाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिन्डरको व्यवस्था मिलाउन अक्सिजन सिलिन्डर सहजीकरण तथा व्यवस्थापन समिति गठन गरेको छ ।

नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरेको हो ।

नगरप्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सिसिएमसीको सचिवालय बैठकले आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, सङ्घ–सङ्गठनलाई संस्थागत हिसाबले अनुरोध गर्ने निर्णय गरेको छ ।

सैनामैना नगरपालिकामा कोभिड–१९ विरुद्ध कोरोना अस्थायी आइसोलेशन अस्पताल सञ्चालनमा आएको छ । सैनामैना–१ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी आइसोलेशन अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको नगर उपप्रमुख विना रानाले बताउनुभयो । यति मात्रै होइन सैनामैनाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । यही वैशाख २७ गतेसम्म्ममा नगरका सबै वडामा स्वाब सङ्कलन र परीक्षणको काम गरिने नगरपालिकाले जनाएको छ ।

यस्तै देवदह नगरपालिकामा अक्सिजनसहितको २० श्ययाको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ । देवदह–७ मा रहेको मगर समाजको भवनमा आइसोलेशन सेन्टर सञ्चालन गरिएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन । नगरपालिकाले समस्या देखिएका नगरवासीको निःशुल्क कोरोना परीक्षणसमेत शुरु गरिएको उनले बताइन ।

जिल्लाको सिद्धार्थ नगरपालिकाले बसपार्कमै आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । आइसोलेशन सेन्टरमा अक्सिजन सिलिन्डरसहितका २० श्यया रहेको नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिइन् । “थप अइसोलेशनका लागि नगरमा खाली ठाउँ छैन, नगरमा मेडिकल कलेज र एउटा सरकारी अस्पताल भएका कारण केही सहज भएको छ”, उनले भनिन् । सिद्धार्थ नपाले सङ्क्रमित बिरामीको मनोबल बढाउन होम आइसोलेशनमा मनोपरामर्श दिने कामसमेत गरिहेको उनले बताइन ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा अक्सिजनसहितको २० श्ययाको आइसोलेशन सञ्चालन गरेको छ । नगरमा कोरोना सङ्क्रमण देखिएका बिरामीलाई आसोलेशनमा राख्ने र थप समस्या देखिए अस्पताल पठाउने गरिएको नगरप्रमुख मनमोहन चौधरीले जानकारी दिए । बिरामीको सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र एउटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनको भनाइ छ । लुम्बिनीले कोरोनाको रोकथामका लागि आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षणसमेत गर्न लागिएको छ ।

रोेहिणी गाउँपालिकाले पनि कोरोना सङ्क्रमितको उपचारका लागि पाँच श्ययाको आइसोलेशन सञ्चालन गरेको छ । रोहिणी–३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा केन्द्रीय सरकारको रु १० लाखको सहयोगमा आइसोलेशन तथा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । अस्पतालमा विशेषज्ञसहितको समूहले बिरामीलाई उपचार सेवा दिएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिकाले पनि मोतिपुर स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी पालिकाका नागरिकलाई सेवा दिएको छ । पाँच श्ययाको स्वास्थ्य केन्द्रलाई दशमा पु¥याएर कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन लागिएको प्रवक्ता राजेन्द्र कँडेलले जानकारी दिए ।