पर्यटन/संस्कृति

विन्ध्यवासिनीमा चरालाई नियमित चारा व्यवस्थापन

गण्डकी, २५ वैशाख । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कास्की जिल्लामा निषेधाज्ञा जारी भएका कारण सुनसान विन्ध्यवासिनी मन्दिर परिसरमा चरालाई चारा व्यवस्थापन भने नियमित गरिएको छ । मन्दिरमा सर्वसाधारणका लागि पूजाआजामा रोक लगाइएका कारण भक्तजन आउन छोडे पछि परिसरमा रहेका चराहरूलाई चाराको समस्या हुने अवस्थालाई दृष्टिगत गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिले नियमित चाराको व्यवस्थापन गराएको हो ।

अघिल्लो वर्षको लामो समयको बन्दाबन्दीमा पनि समितिले चारा व्यवस्थापन गरेको जानकारी दिदै समितिका सचिव तीर्थ श्रेष्ठले यस वर्ष पनि कोरोना महामारी बढ्दै जान थालेपछि वैशाख ९ गतेबाट मन्दिरमा नियमित बाहेकको पूजाआजामा रोक लगाइएको जानकारी दिए ।

पूजाआजामा रोक लगाइएसँगै भक्तजनको आगमन बन्द भए पछि चराचुरुङ्गीलाई हुने आहाराको समस्या नहोस् भन्दै चारा व्यवस्थापन गरिएको उनले बताए ।
मन्दिरमा विवाह लगायतका कार्यका लागि निरन्तर सोधपुछ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले आँफूहरूले महामारी बढेका कारण नआइदिनुहोला भन्ने जवाफ दिने गरेको बताए । “कतिपय त सोधपुछ नगरी विवाहका लागि सिधै पनि मन्दिरको ढोकामा आउने गर्नुभएको छ”, उनले भने, “त्यस्ताका लागि व्यवहारिकता बोध गर्दै वर र वधु पक्षका बढीमा तीन तीन जनाका दरले पठाउने गरेका छौं ।”
अघिल्लो वर्ष कोरोना महामारी शुरु भएपछि बन्दाबन्दीको समयावधि सहित झण्डै सात महिना मन्दिरमा पूजाआजामा रोक लगाइएको थियो । सचिव श्रेष्ठका अनुसार सामान्य अवस्थामा मन्दिरमा पूजाआजाका लागि आउने भक्तजनबाट भेटीघाटीस्वरुप लगभग मासिक एक लाख रुपैयाँ सहयोग सङ्कलन हुँदै आएको छ ।