राजनीति

प्रधानमन्त्री निकट ब्यापारी औषधि खोप कमिशनमा लाग्नु र प्रधानमन्त्री मौन बस्नु दुःखद- डा संग्रौला

२५ बैसाख, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले प्रधानमन्त्री निकट व्यापारीहरुबाटै सरकारले सोझै किन्न लागेको खोपमा कमिसनको दावी गर्नु र प्रधानमन्त्रीको त्यसमा मौन सहमति रहेको आरोप लाग्नु दुःखको कुरा भएको बताएकी छन् ।
डा संग्रौलाले भनिन्, ‘जनताको जीवनरक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा मात्रै हैन, जनताविरुद्धको अक्षम्य अपराध हो भन्ने कांग्रेस पार्टीको धारणा छ। म सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा गर्दै यो प्रकरणको निस्पक्ष छानबिन गरि भ्रष्टाचारजन्य काममा संलग्न सबैलाई कडा कारबाही गर्न माग गर्दछु ।’

उनले भनेकी छन्, ‘गत वर्ष कोभिड महामारी शुरु हुनासाथ स्वास्थ्य सामग्री खरिदमा भ्रस्टाचार र चार्टर्ड फ्लाइटमा महँगो भाडा तोकेर विवादमा आएको सरकार अहिले कोभिड विरुद्धको खोप ल्याउनु पर्नेमा जनताको स्वास्थ्य भन्दा कमिसनमा अल्मलिएको खबरहरु आइरहेका छन्। यो विषयमा जवाफ दिनु पर्ने थलो प्रतिनिधि सभालाई बन्द गरिएको छ। भारतबाट सहयोग स्वरुप प्राप्त खोप आउना साथ प्रधानमंत्री ओलीले सबै देशवासीले तीन महिना भित्रै खोप लगाइ सक्ने घोषणा गरे। तर प्रधानमंत्री निकट व्यापारीहरु बाटै सरकारले सोझै किन्न लागेको खोपमा कमिसनको दावी गर्नु र प्रधानमंत्रीको त्यसमा मौन सहमति रहेको आरोप लाग्नु दुःखको कुरा हो। सिंगो स्वास्थ्य मन्त्रालयले बिचौलियाहरुको चलखेल सार्वजनिक गर्दा प्रधानमंत्री कार्यालयले ढाकछोप गर्न खोज्नु निन्दनीय छ।’