स्वास्थ्य

म्याग्दी अक्सिजनमा आत्मनिर्भर

म्याग्दी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने अक्सिजनको उत्पादन र आपूर्ति पर्याप्त छ ।

बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्थापन गरिएको बताए । “अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधैँ पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “निर्माणाधीन आइसोलेशन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछौँ । सिलिण्डर पनि तयारी अवस्थामा छन् ।”

बेनी अस्पतालमा ३४ ठूला, चारवटा मध्यम र एम्बुलेन्समा जडान भएकासहित छवटा साना अक्सिजनका सिलिण्डर छन् । अस्पतालका सिलिण्डर बिरामीलाई घर लैजान दिइएको छैन । दीर्घरोगीको निधनपछि घरमै प्रयोगविहीन भएर थन्किएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन अस्पतालले अपिल गरेको छ ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा आउने बिरामी र नियमित अक्सिजन लगाउनुपर्ने बिरामीका लागि बाहिरबाट अक्सिजन आयात हुन छाडेको बताए । अस्पतालमा भएका सबै ३० वटा शय्यामा अक्सिजन पाइप जडान गरिएको छ । आकस्मिक, मिर्गाैला डायलायसिस, सघन उपचारकक्ष (आइसीयू) र बहिरङ्ग विभागका शय्यामा अक्सिजन आपूर्ति गराउन पाइप लाइन जडान भएको छ । सिलिण्डर भरेर ओसार्नु पर्दैन ।

पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ । गत पुषदेखि अस्पतालमा अक्सिजन उत्पादन शुरु गरेपछि घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको रु १० लाख बजेटले पलान्टबाट अस्पतालको बेडमै अक्सिजन पु¥याउन पाइपलाइन जडान गरिएको हो । पलान्टले एक दिनमा १५ वटा सम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको छ । हाल १० वटा सम्म सिलिण्डर भर्ने डाक्टर कडेलले बताए ।

अस्पतालमा सामान्य अवस्थामा दैनिक २० देखि २५ जना स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रसोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु ६३ लाख खर्च भएको छ ।

“सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा रु ७५ लाख बजेट पठाएकोमा प्रतिस्पर्धामार्फत ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भने , “‘सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत रघुगङ्गा गाउँपालिकाले दिएको रु १४ लाख र अस्पतालको रु एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर पलान्ट सञ्चालनमा ल्याएका छौँ ।”

मन्त्रालयको रु पाँच लाख सहयोगमा अक्सिजन पलान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु ३० लाखबाट सघन उपचार कक्षमा १ वटा भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताए ।

विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पाँच शय्या क्षमताको सघन उपचारकक्ष सञ्चालनमा ल्याएको छ । गत साउनदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु गरेको अस्पतालले आँखा उपचारकक्षसमेत सञ्चालन गरेको छ । फोहर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ । पचास शय्या क्षमताको भवन निर्माणमा भएको ढिलासुस्ती र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती देखिएको छ ।