समाचार

रेम्डिसिभिरमा कालोबजारीः मापदण्ड उल्लङ्घन गर्नेलाई कारवाही

२३ बैसाख, काठमाडौं । रेम्डिसिभिर औषधि कालोबजारी गरेका अभियोगमा काठमाडौँ टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ का २५ वर्षीय रफिक मियालाई आज प्रहरीले पक्राउ गरेको छ । कोभिड–१९ बाट सङ्क्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
करीब रु ३० हजार पर्ने छ थान रेम्डिसिभिर रु एक लाख २० हजारमा किनबेच गर्न लागेका अवस्थामा उनलाई काठमाडौँको वसुन्धराबाट पक्राउ गरिएको जनाइएको छ । मियाले काठमाडौँ महाराजगञ्जस्थित नीलकण्ठ लम्सालका नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेम्डिसिभिर ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अहिले प्रहरीले उक्त फर्मा बन्द गरी फरार ढकालको खोजी गरिएको रहेको महाशाखाले जनाएको छ ।
५०० लाई कारवाही
प्रहरीले आज स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्नै ५३५ जनालाई जरिवाना तिराएर कारवाही गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गरेकाले सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए।
निषेधाज्ञा कार्यान्वयनमा खटिएको प्रहरीले आज विभिन्न जिल्लामा छ हजार १७८ जनालाई निःशुल्क मास्क समेत वितरण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संङ्क्रमण बढ्दै गएका सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ अभियान पनि जारी राखेको छ ।
सोहीक्रममा नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रम गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले बताए ।
नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकार पक्षसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई पनि तीव्र पारेको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्ने नौ हजार ८५२ जनालाई होल्ड गरी छाडिएको छ । सोक्रममा एक हजार २७७ गाडी र दुई हजार ५३० मोटरसाइकल गरी तीन हजार ८०७ सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।