पर्यटन/संस्कृति

दुई हजार ५०० युवालाई होटेल तालीम

२१ बैसाख, काठमाडौं । कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ । विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले स्थापनाकालदेखि हालसम्म दुई हजार ५०० बेरोजगार युवालाई होटेल तालीम प्रदान गरेको हो । केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले केन्द्रले स्थापनादेखि हालसम्म बेरोजगार युवालाई बेकरी, हाउसकिपिङ, वरिष्टा, कुकिङ, बार टेन्डर तथा वेटरलगायत तालीम प्रदान गरिसकेको राससलाई जानकारी दिए ।

“यस केन्द्रमा तालीम लिएका युवाहरु स्वदेश तथा विदेशका विभिन्न होटेल तथा रेष्टुरेन्टमा काम गरिरहेका छन्, तालीम लिएका युवाहरु बेरोजगार बस्नु परेको छैन”, उनले भने । एसोसिएशन नेपाल आकी संस्थाबाट मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा सञ्चालित उक्त संस्थाले आम्दानी गरेको रकम विभिन्न सामाजिक संस्थालाई सहयोगसमेत गर्दै आएको छ । उक्त केन्द्रले गोरखा भूकम्पको समयमा धादिङ तथा गोरखाका ग्रामीण क्षेत्रमा सहयोग गरेको थियो ।

आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क होटेल तालीम प्रदान गर्दै आएको उक्त केन्द्रले तालीम प्रदान गर्नाका साथै इन्टनशिप, डकुमेन्टेशन र जागिरका लागि आवश्यक अन्तर्वार्ताको तयारीसमेत गर्दै आएको सिइओ पोखरेलले बताए । यस्तै, उक्त केन्द्रले होटेल तथा रेष्टुरेन्टमा लगानी गर्न सक्नेलाई आवश्यक परामर्श तथा सहयोग गर्दै आएको छ । केन्द्रले विद्यार्थीलाई होटेल तालीम प्रदान गर्नका लागि आफ्नै लगानीमा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएको छ ।