पु.समाचार

शव बोकेको जिप दुर्घटना, पाँचको मृत्यु, पाँच घाइते

२१ बैसाख, काठमाडौं । जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक तेजबहादुर बोहरा छन् ।

जिप चालक बोहराको उपचारको लागि अस्पताल ल्याउँदैै गर्दा मुत्यु भएको हो भने अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पठाइँदैछ ।

पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ ज १८३ नं को जिप आज दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिक जिप दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उक्त जिप दुर्घटनामा परेको हो ।

जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । साँघुरो घुम्तीमा मोड्नेक्रममा ब्याक गर्दा जिप दुर्घटनामा जिल्ला प्रहरीले जनाएको छ ।