प्रवास

संस्थाको हितका लागि हाम्रा नभई राम्रा मान्छेलाई चुनावमा मत दिऔंः महासचिव उम्मेद्वार सुवेदी

२१ बैसाख, काठमाडौं । अमेरिकावासी नेपाली नवराज सुवेदीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आसन्न निर्वाचनका लागि महासचिव पदमा उम्मेद्वारी दिएका छन् ।
दोलखामा जन्मिएर डिभी भिसाबाट अमेरिका पुगेका उनी त्यहीका नागरिक बनेपछि मात्र होइन नेपालमा छँदा पनि सामाजिक कार्यमा गहिरो रुची र सशक्त सहभागिता जनाउने पात्रमा गनिन्छन् ।
सक्रियताकै सिलसिलामा उनले एनआरएनएको सदस्यता प्राप्त गरे । देशभित्र रहँदा मात्र नभई अमेरिका पुगेर पनि उनले नेपालमा रहेका संघ–संस्थालाई अनि निर्माण कार्य जस्ता क्षेत्रमा आर्थिक सहयोगलाई जारी राखे । सुवेदीले अमेरिकाबाटै दोलखा भिमेश्वर नगरपालिका–७ स्थित चलचित्र रंगशाला र ऐतिहासिक संग्रहलय निर्माणमा उल्लेख्य आर्थिक सहयोग गरेका छन् । भूकम्पका बेला र त्यसपछि पनि उनले पीडितहरुलाई सहयोग गर्ने क्रमलाई रोकेनन् ।
अमेरिकाको ५० राज्यमध्ये २९ राज्यमा एनआरएनएको च्याप्टर (शाखा) संचालनमा छन् । उनी हाल नर्थ क्यारोरिनामा बासिन्दा हुन् । अमेरिकामा रहेका पाँच लाख गैरनेपालीहरुको हितमा प्रत्यक्ष सहभागी भई काम गर्ने उद्देश्यसहित आफूले महासचिव पदमा उम्मेद्वारी दिएको सुवेदीको बताए ।
उम्मेद्वारी दिनुका पछाडि उनले मुख्यगरी तीन वटा एजेण्डालाई अगाडि सारेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरिसकेका छन् ।
पहिलो अमेरिकामा आएर ग्रीनकार्ड वा नागरिकता प्राप्त गर्ने अमेरिकावासी नेपाली (गैरनेपाली) स्वतः एनआरएनए एनसीसीको सदस्य हुन पाउने विधानमा व्यवस्था, दोस्रो संस्थालाई दलीय स्वार्थ र भागबण्डा तथा सिन्डिकेटबाट मुक्त र तेस्रो संस्थाको हरेक काम र हिसाबकिताबमा पारदर्शीता ।
यी सबै काम पूरा गर्दै संस्थालाई अमेरिकामा रहेका झण्डै पाँच लाख अमेरिकावासी नेपालीहरुको सहभागिता भएको विशाला संस्था बनाउने आफ्नो योजना रहेको उनले बताए । अमेरिकामा रहेका कूल संख्यामध्ये दस प्रतिशत पनि संस्थामा आवद्ध हुन नसक्नु संस्था नेतृत्वको कमजोरी र व्यक्तिगत स्वार्थ मुख्य कारक बनेको उनको भनाई छ । स्वार्थमा फसेर भोलिका दिनमा संस्थालाई नै कुनै राजनीतिक दललाई बुझाइदिने खतरा रहेको विषय उनले औल्याए । यसलाई चिर्न आफूले उम्मेद्वारी दिएको बताउँछन् उनी । दोलखाको मकैबारीमा जन्मिएर अमेरिकी नागरिक बन्न पुगेका सुवेदी हाल पेशाले एमाजन र फेडेक्स कम्पनीमा आवद्ध छन् ।
दलीय स्वार्थबाट गएका नेतृत्व र पदाधिकारीकै कारण संस्था सिन्डिकेटमा फसेको र निकम्मा बनेको उनले बताए । चुनावमा ठूला र गुलिया नारा दिएपनि जीतेपछि सदस्यहरुको हितमा काम नगर्ने प्रवृत्ति मौलाएको भन्दै यसलाई तोड्न उनले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको बताए ।
मतदाताहरुले व्यक्तिगत स्वार्थपूर्तिमा संस्थालाई अल्झाइराख्ने विगतका परिपाटीलाई भत्काउँदै योपटक मतदाताहरुले आफूजस्ता स्वतन्त्र उम्मेद्वारलाई भोट दिएर चुनावमा जिताउने बलियो विश्वास सुवेदीले गरेका छन् । उनी कुनै प्यानलमा छैनन् । आफूले चुनाव जितेर संस्थालाई सधैं व्यवसायिकीकरण गर्नबाट रोकेर व्यवहारिक बनाउने उनको योजना छ ।
‘जित्नु मात्र ठूलो होइन, जितेपछि संस्थाको उद्देश्य र सदस्यहरुको प्रत्यक्ष हितमा काम गर्नु मुख्य कुरा हो’ सुवेदीले भने, ‘चुनावका बेला चिल्ला, मीठा नारा दिने, जितेपछि संस्थाकै बद्नाम हुने काम गर्ने र चुनावी नेटवर्कलाई प्रयोग गरेर आफ्नो दुनो सोझ्याउने खराब प्रवृत्तिलाई योपटकको चुनावबाट परास्त गर्न सबैसँग अपिल पनि गर्न चाहन्छु ।’ सर्वसम्मतिबाट नेतृत्व चयन गर्नमा उनको पहिलो जोड छ ।
योपटक महासचिवको जिम्मेवारी आफूले पाएमा दुई वर्ष पछाडि अर्थात सन् २०२३ को चुनावमा अमेरिकन भइसकेका सम्पूर्ण नेपालीलाई एनआरएनएमा मत दिन पाउने व्यवस्था विधानमै गरिने उनले बताए ।
यसैगरी सुवेदीले एनआरएनले अमेरिकामै बसेर पनि नेपाली र नेपाल सरकारलाई सक्दो सहयोग गर्न सकिने आधारहरु रहेको र त्यसमा संस्थाले पहलकदमी लिन सक्नुपर्ने बताए । नेपालको विकासको लागि पूर्वाधार निर्माण, जलस्रोत विकास, शिक्षा, स्वास्थ्य सेवा, उद्योगभन्दा खोल्न तथा सामाजिक कार्यमा आर्थिक सहयोग गर्न भरपर्दो पहल गर्ने योजना रहेको बताए ।
अमेरिकामै पनि पाँच मुख्य राज्यमा नेपालीहरु मिलेर अमेरिकी सरकारलाई नै सहयोग पुग्ने गरी उद्योग चलाउने योजना उनले सुनाए । व्यवस्थित तवरबाट संगठित गराउन नसक्दा छरिएर कोही कसैले कसलाई नचिन्नेसम्मनको अवस्थाबाट गुुज्रिरहेका अवस्थाको अन्त्य गर्ने कार्ययोजना उनले बनाएका छन् ।
अमेरिकाको नागरिक भइसकेका नेपालीहरुको धर्म, संस्कृति र सभ्यता जोगाउन विशेष अभियान सञ्चालन गर्ने र धर्म–परम्परालाई यहाँ रहेर विश्वभर चिनाउने कामलाई संस्थासँग जोडेर लैजाने र व्यापक बनाउने योजना उनको छ । नेपालीहरुले मनाउने चाड–पर्व, संस्कृति परम्परामा बिदा दिन अमेरिका सरकारसँग माग गर्ने अर्को योजना पनि उनीसँग छ ।
उनले अर्को महत्वपूर्ण योजनाको रुपमा केही विषयलाई एजेण्डाकै रुपमा प्रस्तुत गरेका छन् । अमेरिकामा रहेका ५० प्रतिशत नेपालीलाई संस्थामा आवद्ध गराउने नीति जितेकै दिनबाट बनाउने, हरेक अमेरिकावासी नेपालीको समस्यामा सहभागी हुने, नेपालीहरुको लगानीमा अमेरिकामा ठूलाठूला उद्योग चलाउने र नेपालमा प्रत्यक्ष रोजगार दिन नेपालभित्रै उद्योगधन्दा खोल्ने एजेण्डालाई कार्यान्वयनमा लैजाने बताए ।
विगतमा भूकम्पको केन्द्र गोरखाको बारपाकमा एनआरएनले घर बनाइदिने, बालुवाटारमा जग्गा किन्ने जस्ता विषयमा हात हालेर संस्थाकै बद्नाम गरेको उनको मत छ । घरको छत दिएर मात्र नुहने, त्यहाँ बस्ने मानिसलाई रोजगारको ग्यारेन्टी गर्ने कुरा मुख्य ठान्छन् सुवेदी ।
एनआरएन पनि हरेक हिसाबले दक्ष बन्ने, नेपालमा रहेका दाजुभाई दिदीबिहनीहरुलाई दक्ष जनशक्ति बनाउने कुरा मुख्य हुने उनको भनाई छ । त्यसनिम्ति अमेरिकावासीलाई अमेरिकामै र नेपालीका लागि नेपालमै सीप र ज्ञानपमूलक तालिम ठोस रुपमा सञ्चालन गर्ने उनको योजना छ । खाली मिडियामा आउन फोटो खिचाउन र तडकभडकमा रम्ने पात्रहरुकै कारण संस्था गतिशील हुन नसकेको बताउँछन् उम्मेद्वार सुवेदी । दक्ष जनशक्ति बन्न सकेमात्रै अमेरिकावासी नेपालीको अहिलेको घण्टाका नौ डलरलाई बढाएर १५–२० पाउने बनाउन सकिनेमा उनी ढुक्क छन् । हरेक मानिस स्वरोजगार बन्नुपर्नेमा उनको जोड छ ।
संस्थालाई सूचनामैत्री बनाउने, संस्थाको हरेक गतिविधिबारे जानकारी दिन सकिने गरी एनआरएनको एप बनाउने उनले बताए । एप डाउनलोड गरेर आफ्नो संस्थाको सबै जानकारी हरेकले लिन सकिने बनाएको खण्डमा संस्था पारदर्शितामा जाने र नेतृत्वमाथि गलत आक्षेप नलाग्ने बाटोमा आफू हिँड्ने बताए । त्यसो गर्न स्वतन्त्र कित्ताबाट कुशल, गतिशील, जुझारु र परादर्शी नेतृत्व आवश्यक रहेको र त्यसलाई पूरा गर्न आफू अगाडि अगाडि आएको बताए ।
उनका अनुसार अहिलेका नेतृत्व प्रणाली माथी बस्नेहरुले तलबाट आएका गुनासाहरु नसुन्ने, खाली अह्राउने र तल बस्नेहरुले त्योअनुसार गर्ने परिपाटी रहेको र त्यसलाई उल्ट्याएर गुनासा गर्नेहरुलाई मञ्चमा राखेर नेतृत्व तल बसेर सुन्ने संचरना बनाउने कार्यक्रम उनले सुनाए ।
संस्थामा फर्जी मतदातालाई हटाउनु पनि आफ्नो दायित्व रहेको उनले बताए । एजेण्डाले भन्दा तिकडम गरी चुनाव जित्न कतिपय नेतृत्वका उम्मेद्वारले झण्डै आधाजसो मतदाता संख्याको सूची पेनड्राइभ बोकेर हिँडिरहेको उनको जिकिर छ । संस्थाको हितका लागि हाम्रा नभई राम्रा मान्छेलाई चुनावमा मत दिएर मतदाताले सही विवेक देखाउनने बेला आएको हुने उनको भनाई छ । विवेक प्रयोग गर्न नसक्दा संस्थाप्रति आकर्षणभन्दा विकर्षण पैदा हुँदै गएको बताउँदै स्वतन्त्र उम्मेद्वारलाई मत दिन अपिल गरे ।
चुनाव जित्दा संस्था सही र हार्दा गलत मान्ने पक्षमा आफू नरहेको उनले प्रष्ट पारे । आसन्न चुनाव जितेर अमेरिकावासी नेपालीले व्यहोर्दै आइरहेको दोहोरो कर प्रणाली हटाउन र एनआरएनले नेपाली नागरिकता प्राप्त गर्र्नेसम्बन्धी कानून छिटोभन्दा छिटो बनाउन नेपाल सरकारसँग संस्थाको तर्फबाट पहल गर्ने विषयलाई उनले जरुरी कार्ययोजनामा राखेका छन् ।