पु.समाचार

५५० पत्रकारलाई सङ्क्रमणः सातको निधन

२० बैसाख, काठमाडौं । कोभिड—१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए।
सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गरेका छन् ।

विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ ।
“कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ । यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ ।”
यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ ।