खेलकुद

बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

१९ वैशाख, खोटाङ । जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत (ए) डिभिजनमा बाक्सिला फुटबल क्लब र (बी) डिभिजनमा बुइपा इलेभेन स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको राजाबासस्थित यलम्बर खेलमैदानमा शनिबार सम्पन्न जिल्ला लिगको (ए) डिभिजनतर्फ ११ अङ्कसहित बाक्सिला फुटबल क्लब लिग च्याम्पियन बनेको हो ।

(ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने आयोजक जिल्ला फुटबल सङ्घका प्रवक्ता सनम राई (जोजो)ले जानकारी दिए। यस्तै १० अङ्कसहित सोल्मा स्पोर्ट्स क्लब रनरअप र नौ अङ्कसहित खारम्बु स्पोर्ट्स क्लब तेस्रो भएको आयोजकले जनाएको छ ।

खोटाङ भगवती स्पोर्ट्स र हलेसी तुवाचुङ फुटबल क्लबले पाँच÷पाँच अङ्कसहित (ए) डिभिजनमा आफ्नो स्थान कायम राखेका छन् । (ए) डिभिजनमा रहेको खोटाङ फुटबल एकेडेमी भने (बी) डिभिजनमा ओर्लिएको छ । यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा (बी) डिभिजनतर्फ नौ अङ्कसहित बुइपा इलेभेन स्पोर्ट्स क्लब लिग च्याम्पियन बनेको छ । प्राप्त अङ्कका आधारमा बुइपा इलेभेन स्पोर्ट्स क्लब (बी) डिभिजनमा उक्लिन सफल भएको छ ।

चार अङ्कसहित जन्तेढुङ्गा फुटबल क्लब दोस्रो र तीन अङ्कसहित नमूना स्पोर्ट्स क्लब तेस्रो भएको प्रवक्ता राईले बताए । (बी) डिभिजन लिगमा नुनथला फुटबल क्लबले एक अङ्क मात्र प्राप्त गरेको जनाइएको छ । जिल्ला लिगमा (ए) डिभिजनतर्फ छ क्लब र (बी) डिभिजनमा चार क्लबबीच प्रतिस्पर्धा भएको थियो । गत वर्षको लिगमा प्राप्त गरेको अङ्कका आधारमा जिल्लाका छ क्लब (ए) र चार क्लब (बी) डिभिजनमा परेका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा विसं २०७६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले बताए । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलोपल्ट विसं २०७६ मा जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

विसं २०५९ देखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई विसं २०७५ मा अस्थायी र विसं २०७७ मा स्थायी सदस्यता प्राप्त भएको थियो । पूर्वी पहाडी जिल्ला खोटाङले एन्फाको सदस्यता पाएसँगै फुटबल खेल क्षेत्रको विकासले गति लिने अपेक्षा गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय फुटबल खेललाई प्राथमिकतामा राखेर हरेक स्थानीय तहमा खेलमैदान निर्माण तथा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । हरेक स्थानीय तहमा एक÷एकवटा पालिकास्तरीय तथा हरेक वडामा वडास्तरीय खेल गराउने मिल्ने गरी खेलमैदान निर्माण गरिएको हो ।