प्रदेश 1

श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्छः नेता कोइराला

१८ बैशाख, इनरुवा । प्रदेश नं १ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कोभिड–१९ महामारीका चपेटामा परेका सम्पूर्ण श्रमजीवीको जीवनको सुरक्षा र श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा अहिले कोरोनाका कारणले विश्व समुदाय अक्रान्त भएको र यसबाट हाम्रा सबै श्रमिक, मजदूर असाध्यै कठिन अवस्थामा परेको तथा कामधन्धा बन्द भएका कारणले प्रदेश सरकारले श्रमिकहरुका लागि विशेष राहतको प्याकेज तत्काल घोषणा गर्नुपर्ने भनेका छन् । उनले कोरोना महामारीको कठिन परिस्थितिमा सरकारले मजदूर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने बताउँदै सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्न र श्रमिक मैत्री भएर काम गर्नसमेत आग्रह गरे ।
नेता कोइरालाले श्रमिक समाज राष्ट्रको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै सात सालको क्रान्तिदेखि अहिलेसम्म नेपालका हरेक राजनीतिक आन्दोलनमा श्रमिकहरु अग्रपङ्क्तिमा उभिएकाले अहिले सम्मका सबै परिवर्तनहरु सम्भव भएको बताए । सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले सन्देशमा भनेका छन् “ नेपालमा परिवर्तनका नायक र परिश्रमका पर्याय श्रमिक वर्गको हितका लागि सरकारले ठोस कदम चाल्नुपर्दछ ।”