अन्तर्राष्ट्रिय

शाङ्घाई नजिक आँधीका कारण कम्तिमा ११ को मृत्यु

१८ बैशाख, शाङ्घाई। शाङ्घाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् ।
शुक्रबार साँझ माछा मार्न गएका माछा मार्ने डुङ्गामा रहेका नौ जना आँधीपछि सम्पर्कमा आएका छैनन् तर सोही डुङ्गाका अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ ।
याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको चिनियाँ वेबसाइट ‘ट्यूटियाओ डटकम’ले जनाएको छ ।
आँधीपछि कतिपय मृतकहरू रूख र बिजुलीको खम्बाले थिचिएको अवस्थामा भेटिएका थिए भने अन्यलाई बतासले पानीमा फ्याँकिएको अवस्थामा पाइएको स्थानीय अधिकारीहरूले सामाजिक सञ्जाल ओइवोमार्फत् जानकारी गराएका छन् ।
आँधीका कारण कम्तीमा १०२ जना घाइते भएका छन्, धेरै घरहरू भत्किएका छन् भने करिब तीन हजार स्थानीयलाई सुरक्षितस्थलमा सारिएको छ ।