अन्तर्राष्ट्रिय

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

१८ बैसाख, नयाँदिल्ली । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ ।
भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।
भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गरेका छन् ।
अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन् ।
भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउने निर्णय मे ४ देखि लागु हुने र यो निर्णय अस्थायी भएको जनाइएको छ । अस्थायी भएपनि कहिलेसम्म लागु हुनेछ भन्ने अनिश्चित नै रहेको छ ।
भारतमा अहिले कोरोनाभाइरसको महामारी अत्यधिक छ भने दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । अरु हजारौंको मृत्यु हुने गरेको छ ।
भारतको महामारी सर्ने डरले अन्य देशहरूले पनि भारतबाट आवागमनका लागि प्रतिवन्ध लगाएका छन् ।
अष्ट्रेलियाले त आदेश नमान्नेलाई पाँच बर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ ।
शनिबार घोषणा गरिएको यात्रा प्रतिवन्धसम्वन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ ।
कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि भारतलगायतका कोरोनाभाइरसबाट अति प्रभावित मुलुकबाट आउनेहरूलाई आउन नदिने निर्णय गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।
भारतबाट अष्ट्रेलिया आउन नपाइनेसम्वन्धी सरकारी निर्णय कार्यान्वयन भने आगामी सोमबारदेखि मात्रै हुने जनाइएको छ ।
अत्यावश्यक परेर आएकाहरूलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।
भारतबाट आएका यात्रुहरूबाट कोरोनाभाइरस सर्न थालेको भन्दै सर्वत्र चासो व्यक्त भएपछि सरकारले भारतबाट अष्ट्रेलिया आउन रोक लगाइएको हो ।