आर्थिक

बैंक खाता खोल्न ज्येष्ठ नागरिकलाई सास्ती

१८ वैशाख, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने गरेको उनीहरूले गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक खाता खोल्नुपर्ने भएपछि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले सास्ती खेप्नुपरेको छ ।

खाता खोल्न सदरमुकाम सिमकोटसम्म एक दिन पैदल हिँडेर आउनुपर्ने भएपछि उनीहरूलाई समस्या भएको हो । सिमकोट गाउँपालिका–७ का ७८ वर्षीय ज्येष्ठ नागरिक पञ्चवीर रोकायाले पाँच घण्टा पैदल उकालोबाटो हिँडेर बैंक खाता खोल्न सरदमुकाम आएको गुनासो पोखे । दमका बिरामीसमेत रहेका रोकायाले आफू निकै सास्ती खेपेर बैंक खाता खोल्न आइपुगेको तर १० महिना बितिसक्यो अहिलेसम्म गत साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो पोखे । सरकाले दिने सामाजिक सुरक्षा भत्ता आफूहरूलाई विरतण नगरेर ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई दुःख दिने काम भएको आरोपसमेत लगाए ।

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्न सरकारले राम्रो काम गरेको भए पनि सेवाग्राहीलाई समस्या थपिएको छ । त्यस्तै सिमकोट गाउँपालिका–१ का ८८ वर्षीय ज्येष्ठ नागरिक आङ्याल लामाले बैंक खाता नखोले भत्ता नपाइने सुने पनि आफू बैंक भएको स्थान सदरमुकाम सिमकोट जान नसक्ने बताए । सबैको हकमा यो नियम व्यवहारिक नभएको बताउँदै लामाले आफूजस्ता हिँड्न नसक्ने नागरिकका लागि विकल्प दिन पनि सरकारलाई अनुरोध गरे ।

यता नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीका ९० वर्षीय पाल्जुमा तामाङको अवस्था पनि उस्तै छ । उनले तीन दिन पैदल लाग्ने पालिका केन्द्रसम्म आफू जान नसक्ने बताउँदै शारीरिक अवस्थाले साथ नदिने र भत्ता पाउन बैंक खाता खोल्नैपर्ने बाध्यताले आफू भत्ता पाउनबाट बञ्चित भएको गुनासो गरे ।

लक्षित समुदायले १० महिनादेखि भत्ता पाएनन्

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकासहित जिल्लाभरका लक्षित समुदायका व्यक्तिले १० महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुदायअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित समुदायका व्यक्तिले आर्थिक वर्ष २०७६र७७ को पहिलो किस्तावापतको रकम हालसम्म पनि स्थानीय सरकारबाट नपाउँदा कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित र एकल महिलाले आफूलाई समयमै रकम नदिँदा दशैँ, तिहार र हिउँदको समयमा यतिकै बिताउनुपरेको सिमकोट गाउँपालिका–२ का मैना बोहराले गुनासो गरे । इच्छा लागेका सामान किन्न पाइएन, चाडपर्वको समयमा मिठो मसिनो किनमेल गरे खान पाइएन र औषधोपचार गर्न नपाएर स्वस्थ्य जीवन बिताउन नपाएको उनीहरूले गुनासो गर्न थालेका छन् ।

समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने भए पनि सरकारबाट पाउने सुविधासमेत समयमा नदिएर अपमान गरेको एकल महिना गौगोरा बोहराले गुनासो गरे । भत्ता आउला भन्ने आशामा बसेका ज्येष्ठ नागरिक हुम्लामा हिउँदमा हुने चिसो र चाडपर्व सकिँदासमेत भत्ता नपाएपछि निराश भएका छन् ।

यता सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार पुरानो संरचनाअनुसार घरघरमै गएर नगद रकम दिँदा तलमाथि हुने देखिएपछि नयाँ संरचनाअनुसार बैंक खाता सञ्चालन गरेर वितरण गरिने भएकाले केही ढिलाइ भएको हो । खाता सञ्चालनमा आइनसकेका कारणले समस्या भएको छ । अबको केही दिनमै वितरण गरिने तयारी भइरहेको उनले बताए ।