राजनीति

सरकारको ध्यान कोरोना रोक्न भन्दा उद्घाटन, भिडभाड र तडकभडकमा केन्द्रितः सभापति देउवा

१७ बैसाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसीआर परीक्षण गर्न सरकारलाई सुझाव दिएका छन् । आफ्नो निवास बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदसम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न उनले सरकारसँग माग गरे ।

परीक्षणका क्रममा कोरोना सङ्क्रमित भएका नागरिकलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन सभापति देउवाले सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको सभापति देउवाले आरोप लगाए ।

काठमाडौँ उपत्यकाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण गाउँ फर्किएकाले कोरोना थप फैलिने खतरा बढेको सभापति देउवाले सुनाए । सङ्क्रमित भएका गाउँमा परीक्षण नै नगरी गएका कारण थप भयावह आउनेप्रति उनले सचेत गराए । निषेधाज्ञाको अवधिमा सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक काम गर्न सभापति देउवाले सरकारलाई सुझाव दिए । वर्तमान सरकारको ध्यान उद्घाटन, भिडभाड र तडकभडकमा बढी केन्द्रित भएको आरोप लगाउँदै उनले संक्रमण रोक्न सरकारले कुनै ठोस काम गर्न नसक्दा निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

सभापति देउवाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई जोखिममा काम गरेको भत्ताको सुनिश्चिता गर्न सरकारसँग माग गरे । उनले सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न आग्रह गरे। कोरोनाविरूद्धको खोप आपूर्तिको सुनिश्चितता गर्नुपर्ने, विदेश जानेका हकमा पिसीआर परीक्षण गर्ने स्वास्थ्य संस्था बढीभन्दा बढी तोक्नुपर्ने उकोन भनाइ छ । सभापति देउवाले कोरोना महामारीबाट प्रभावित भएका सबैलाई आवश्यक राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । व्यवसायीका लागि राहत तथा सहयोगको प्याकेज ल्याउन उनले सरकारसँग माग गरे ।

सभापति देउवाले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोनाविरुद्धको सचेतना अभियानमा खटाउन निर्देशन दिए । अहिलेको महामारीको मिलेर सामना गर्न पार्टी पंक्ति सबैलाई उनले आग्रह गरे । कोरोना सङ्क्रमितलाई उपचार अभाव भएमा त्यसका लागि सहयोग गर्न उनले देशभरका आफ्ना कार्यकर्तालाई निर्देशन दिए । अमेरिकाले खोप सहयोग गर्न लागेकामा त्यसको स्वागत गर्दै सभापति देउवाले भारत र चीनले खोप उपलब्ध गराएकामा धन्यवाद दिए ।

मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र बलियो बनाउन सभापति देउवाले माग गरे । समस्यामा परेकाका लागि सहयोग अभियान चलाउन उनले निर्देशन दिए।