प्रदेश 1

प्रमुखलाई कोरोना देखिएपछि कर कार्यालय बन्द

१७ वैशाख, ओखलढुङ्गा । करदाता सेवा कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख कोशलेन्द्र रिजाललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको हो ।

कार्यालय प्रमुख ४० वर्षीय रिजाललाई आज गरिएको एन्टिजेन परीक्षणमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्यमा सामान्य समस्यासहित कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।

उनी यही वैशाख १० गते विवाहका लागि चितवन पुगेर काठमाडौँहुँदै १५ वैशाखमा जिल्ला फकिएका थिए । कोभिड सङ्क्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको करदाता सेवा प्रमुख रिजालले बताए । आफूलाई सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्मका लागि कार्यालयको सेवा बन्द गरिएको रिजालले जानकारी दिए ।