गण्डकी प्रदेश

भूकम्पको छ वर्षः ७२ प्रतिशत नीजि आवास पुनर्निर्माण

१६ वैशाख, गलकोट । नेपालमा विनाशकारी भूकम्प गएको छ वर्ष पूरा भएको छ । यो अवधिमा बागलुङमा निजी आवास पुनर्निर्माणमा ७२ प्रतिशत प्रगति भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र वैशाख २९ गते गएको दोस्रो ठूलो पराकम्पनबाट भत्किएका २८ प्रतिशत घरहरूको अझै पुनर्निर्माण भइसकेको छैन ।

जिल्लामा भूकम्पबाट क्षति भएका दुई हजार ५५६ लाभग्राहीमध्ये
१६ वैशाख, गलकोट । हालसम्म एक हजार ७१२ जनाले मात्र आवास पुनर्निर्माणको काम सम्पन्न गरेको छ । भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि जिल्लामा दुई हजार ४५२ जनाले निर्माण सम्झौता गरेका थिए । हालसम्म एक हजार ७१२ लाभग्राहीले आवास पुनर्निर्माणको काम सम्पन्न गरेर अन्तिम किस्ताबापतको रकम लिइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बागलुङले जनाएको छ ।
भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरेका कूल दुई हजार ४ सय ५२ लाभग्राहीमध्ये सबैले प्रथम किस्ताबापतको रु। ५० हजार रकम लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिए । त्यस्तै दुई हजार १० लाभग्राहीले दोस्रो किस्ता लगेको उनले जानकारी दिए । “समग्र जिल्लाको पुनर्निर्माण हेर्दा पछिल्लो समय गति लिएको छ, एकीकृत वस्ती निर्माण, सडक, पुल तथा विद्यालय धमाधम निर्माण भएका छन्” उनले भने “निजी आवास पुनर्निर्माणले समेत पछिल्लो समयमा गति लिएको छ । अबको केही समयमै पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याइनेछ ।”
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गर्ने कार्य सकिएको र उनीहरुको बस्तीमा पूर्वाधार निर्माणको काम अगाडि बढेको पुनर्निर्माण प्राधिकरण बागलुङका इञ्जिनियर विक्रम सापकोटाले जानकारी दिए । पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनर्निर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनर्निर्माणको प्रगति बढेको हो । भूकम्पले चर्काएको घर प्रबलीकरण गरेर नयाँजस्तै घर निर्माण गर्ने सूचिमा परेका बागलुङका १७१ लाभग्राहीमध्ये दुई जनाले मात्रै घर प्रबलीकरण गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई बागलुङका अनुसार १७१ लाभग्राहीमध्ये पुनर्निर्माण परिवर्तन गरेका ५० लाभग्राही बाहेक कूल ८१ जनाले सम्झौता गरी प्रथम किस्ता लिएका छन् । तीमध्ये दुई जनाले मात्रै अन्तिम किस्ता लिएका छन् भने ७९ घरले प्रथम किस्ता लगेर प्रवलकीरणमा चासो नदेखाएको प्रमुख पाण्डेको भनाइ छ ।

अलि महँगो र प्राविधिक रूपमा झञ्झट भएकाले प्रबलीकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् । प्रबलीकरण गर्न आवश्यक रहेको घर भत्काएर पुनर्निर्माण गर्न खोजेमा पुनर्निर्माणतर्फ तीन लाख अनुदान दिइने व्यवस्था भएपछि ५० जनाले सोही अनुसार काम गरेको र अन्यले प्रबलीकरणमा चासो नदिएका हुन् । प्रबलीकरणमा परेका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि यसतर्फ लाभग्राही आकर्षित हुन नसकेको अनुमान एकाइको छ । घर पुनर्निर्माण गर्नका लागि तीन किस्तामा तीन लाख र प्रबलीकरण गर्न दुई किस्तामा एक लाख अनुदान रकम दिइँदै आएको छ ।

पुनर्निर्माण प्राधिकरणले निजी आवाससँगै एकीकृत बस्ती निर्माण, सडक मोटरेबल पुल तथा बौद्ध गुम्बा निर्माण गरिरहेको छ । प्राधिकरणले रु १७ करोडको लागतमा बुर्तिवाङ–तमानखोला सडकको १० किलोमिटर सडक ग्राभेल सम्पन्न गरिसकेको छ भने सोही सडकमा दुई वटा पक्की पुल धमाधम निर्माण गरिरहेको छ । लुकुरबन र भालुबाङ खोलामा दुई मोटरेबल पुलको ढलान कार्य भइरहेको प्राधिकरण जिल्ला कार्यान्वयन एकाई कार्यालय बागलुङले जनाएको छ । यस्तै, बागलुङ नगरपालिका–११ स्थित रायडाँडामा बौद्ध गुम्बा निर्माण गर्न समेत पुनर्निर्माण प्राधिकरणले काम अगाडि बढाएको छ ।