स्वास्थ्य

अन्धोपन न्यूनीकरण र मोतियाविन्दु उपचारमा ठूलो योगदानः डा पोखरेल

११ बैसाख, काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका संरक्षक डा रामप्रसाद पोखरेलले मुलुकमा अन्धोपन निवारण, मोतियाविन्दु उपचार र आँखा उपचारसम्बन्धी प्राविधिक जनशक्ति उत्पादनमा आफ्नो अस्पतालले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् ।
उक्त अस्पतालको १५औँ वार्षिक साधारणसभामा उनले आँखासम्बन्धी रोग उपचारमा अस्पतालले जनतालाई सक्दो सहयोग पु¥याइरहेको बताए । अस्पतालले अघिल्लो वर्ष गरिब तथा विपन्न समुदायका ७२० जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरेको छ । त्यसवापत लाग्ने करिब रु १० लाख अस्पतालले व्यहोरेको थियो ।
साधारणसभाले अस्पताल सञ्चालक समितिका सचिव मेघराज पोखरेल र कोषाध्यष सविता भण्डारीद्वारा प्रस्तुत संस्थाको वार्षिक गतिविधि र आयव्ययसम्बन्धी आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । अनुभवी दक्ष चिकित्सकद्वारा अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम् उपकरणका माध्यमबाट अस्पतालले आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।
सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले नेपाली जनतालाई सुलभ र सरल ढङ्गले आँखासम्बन्धी सम्पूर्ण विशिष्टिकृत सेवा प्रदान गर्दै आएको बताए । अस्पतालले आर्थिक वर्ष २०७६÷७७ मा ७५ हजार ७५१ जनालाई आँखासम्बन्धी विविध उपचार सेवा प्रदान गरेको थियो । आँखा उपचारका लागि मात्र विशिष्टिकृत सेवा दिने उद्देश्यले ४७ वर्षअघि खोलिएको उक्त अस्पताल मुलुककै जेठो आँखा अस्पताल हो ।
कोरोना महामारी सङ्क्रमणका बाबजुद चालु आवको आठ महिनामा सेवा शुल्कवापत रु चार करोड ५० लाख आम्दानी गरिसकेको उक्त अस्पतालले अघिल्लो आवमा छ करोड ९५ लाख आम्दानी गरेको थियो । अस्पतालले काठमाडौँ उपत्यका र बाहिर विभिन्न ठाउँमा आँखा शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालले विभिन्न विद्यालयमा आँखासम्बन्धी सेवासमेत उपलब्ध गराउँदै आएको छ । अस्पतालमा समाजका विभिन्न क्षेत्रका १२९ आजीवन सदस्यका रूपमा आबद्ध छन् ।
मुख्यतया अन्धोपन अन्त्य गर्ने लक्ष्यका साथ स्थापित गरिएको अस्पतालबाट प्रदान गरिने शल्यक्रिया सेवामध्ये ८७ प्रतिशत मोतियाविन्दुसम्बन्धी रहेको जानकारी दिइएको छ ।