समाचार

आज लोकतन्त्र दिवस, पुनर्निर्मित धरहराको उद्घाटन हुँदै

११ वैशाख, काठमाडौं । लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँन्छ । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ ।

देशमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौ शहीदप्रति श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष लोकतन्त्र दिवस मनाइने गरिन्छ । नेपालमा वि.सं. २०६२र६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।

कोरोना भाइरस महामारीका कारण लकडाउन गरिएकाले अघिल्लो वर्ष लोकतन्त्र दिवसका अवसरमा कुनै पनि औपचारिक कार्यक्रम गरिएको थिएन । यस वर्षपनि कोरोना महामारी तीव्र गतिमा बढिरहेकाले कुनै ठूला कार्यक्रमहरुको आयोजना नभएपनि २०७२ सालको महाभूकम्पले ढलेर पूनर्निर्माण गरिएको धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्रीले उद्घाटन गर्न लागेका हुन् । आज दिउँसो ११ बजे उद्घाटनको कार्यक्रम रहेको छ । धरहराको निर्माण कार्य भने बाँकी नै भएको हुँदा आज उद्घाटन भएपनि अझै ७, ८ महिनासम्म सर्वसाधारणले भने धरहरा चढ्न पाउने छैनन् ।