पु.समाचार

ट्राफिक प्रहरी आह्वान गर्दै भन्छन्ः ‘अनिवार्य मास्कको प्रयोग गरौँ ’

१० बैसाख, काठमाडौं । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै आजदेखि सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक सवारी साधनमा कोरोना सङ्क्रमणको सम्भावना बढी रहेकाले माक्सको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । “हामीले महाशाखासहित काठमाडौँ उपत्यकाका ४३ वटै ट्राफिक कार्यालयलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनेका छौँ”, उनले भने ।
ट्राफिक प्रहरीले सडकमा बसेर पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको हो । पछिल्लो समय नेपालमा दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ उपत्यकामा १० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् ।