पु.समाचार

माक्स प्रहरीका लागि लगाईदिने हो र ?

अम्बिका खड्का/ डेढ वर्षदेखि विश्व एउटा सुक्ष्म किटाणुको नियन्त्रणमा छ । शुरुमा अत्यन्तै भयानक लागेको कोरोना भाइरस डेढ वर्ष बितिसक्दा सबैलाई सामान्य महसुस भइरहेको छ तर यसको प्रभाव भने दिनप्रति दिन उग्र बन्दै गएको छ ।
चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना संक्रमण विश्वमा नै फैसिसकेको छ । यति बेला कोरोना भाइरसको नयाँ भेरियन्टले अझ बढी प्रभाव पारिरहेको छ । कोरोना शुरु हुनासाथ सबै देशले आ–आफ्नो देशमा लकडाउन गरे । कोरोना नियन्त्रणका लागि माक्स लगाएर नाक बन्द गरे । विभिन्न सुरक्षाका मापदण्डहरु अपनाइए तर दिन बित्यो, महिना बित्यो, वर्ष बित्यो लकडाउनका कारण मानिसले रोगले भन्दा भोकले मर्ने हो कि भन्दै खान नै नपाउने स्थिती बन्यो र बिस्तारै खुकुलो हुँदै गयो ।
विश्वमा यतिबेला १४ करोड ५३ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने ३० लाख ८४ हजार भन्दा बढी मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाइसेका छन् । आज पनि विश्वभर १२ करोड ३५ लाख मानिस संक्रमित अवस्थामा छन् ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढीरहेको देखिन्छ । आजभन्दा भोलि र भोलि भन्दा पर्सि संक्रमण र मृत्युदर वृद्धि भएको तथ्यांकले स्थिति भयाबह बन्दै गएको प्रस्ट हुन्छ ।
विश्वमा दैनिक १२ हजार भन्दा बढीको दरले कोरोना संक्रमितको मृत्यु भइरहेको छ भने आजमात्र झण्डै ९ लाख मानिस कोरोना संक्रमित हुन पुगेका छन् ।
भारतमा कोरोना
यतिबेला कोरोनाले भारतमा राज्य चलाइरहेको छ । दैनिक २ हजार भन्दा बढी मानिस यहाँ कोरोना संक्रमणका कारणले मर्दैछन् । दैनिक ३ लाख भन्दा बढी मानिस कोरोना संक्रमित हुने गरेका छन् । अस्पतालमा बेड नपाएर एउटै बेडमा तीन जना संक्रमित रोखको देखिन्छ । अक्सिजनको अभावमा उपचार नै नपाएर पनि कति मानिसले ज्यान गुमाइरहेका छन् ।
कोरोना संक्रमणले यस्तो भयावह स्थिति निम्त्याइसक्दासमेत भारत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको देखिन्छ ।
एक साता अघि मात्र हरिद्वारमा कुम्भ मेला भयो । कोरोनाले दैनिक हजारौँ मानिसको ज्यान गइरहँदा समेत मेला, पुजा, राजनीतिक सभा समारोह रोकिएका छैनन् । कुम्भ मेलामा सहभागी हजारौँ मानिस संक्रमित भएको समाचार आइरहेका छन् । मेलामा सहभागी भएर फर्किएका नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह समेत कोरोना संक्रमणको शंकाको घेराबाट सकेनन्, उनी अहिले आईसोलेशनमा रहेका छन् । यति हुँदा पनि भारत सरकार भने गम्भीर नभएको स्पष्ट आरोप लागिरहेको छ ।

नेपालमा कोरोना
नेपालमा पहिलो पटक एक जनामा कोरोना पुष्टि भएको भोलिपल्ट चैत ११ गते लकडाउन गरिएको थियो । तर अहिले नयाँ भेरियन्टको खतरनाक कोरोनोनाले आतंक मच्चाइरहँदा, दैनिक दुई हजार भन्दा बढी मानिस संक्रमित भइरहँदा पनि खुलेयाम जात्रा, मेला, राजनीतिक समारोह भीडभाड उस्तै छ ।
नेपालमा दैनिक २० हजारको हाराहारीमा पीसीआर परीक्षण गराउँदा पाँच हजारसम्मलाई कोरोना पोजेटिभ देखिएको थियो । एकदिनमा सबैभन्दा बढी ३० जना संक्रमितको मृत्यु समेत भएको थियो । बीचमा बिस्तारै पीसीआर परीक्षण घटाउँदै गइयो र संक्रमित कम भएको भान पारियो । अहिले दोस्रो भेरियन्टको कोरोना उग्र भएर आइरहेको छ । दैनिक दुई हजार भन्दा बढी मासिन संक्रमित भइरहेका छन् भने बीचमा कोरोनाबाट मृत्यु नै कोही नभएको तथ्यांक देखाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल दैनिक ५ जना भन्दा बढीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिरहेको छ । नेपालमा तीन हजार बढीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् भने दुई लाख ९२ हजार भन्दा बढीले कोरोनाको स्वाद चाखिसकेका वा कोरोना संक्रमित भईसकेका छन् ।
राजधानीमा कोरोनाको राज
नेपालको सन्दर्भमा यतिबेला केन्द्रीय राजधानी काठमाडौंमा कोरोनाले राज जमाइरहेको छ । देशभर देखिने संक्रमितको ५० प्रतिशत उपत्यकाका हुने गरेका छन् । कोरोनाको हटस्टप बनेको राजधानीमा कोरोना नियन्त्रणका प्रयास भने खास्सै प्रभावकारी भएको पाइदैन । शुक्रबारबाट हिन्दूहरुको आराध्यदेवका रुपमा चिनिने पशुपतिनाथ मन्दीरमा भक्तहरुलाई पुजा गर्न निशेध गरिएको छ । बिस्तारै काठमाडौं उपत्यकामा पनि लकडाउन हुन्छ कि भन्ने अनुमान लगाउने अवस्था देखिएको छ, शिक्षा क्षेत्रलाई बन्द गर्नु, सिनेमा हल बन्द गर्नुलगायतका अनि दैनिक कोरोना संक्रमितहरुको संख्या बढ्नुका कारण पुनः मुलुकले लकडाउन भोग्नुपर्ने हो कि भन्ने देखिन्छ यानीकी सरकारले सकेसम्म लकडाउन गर्नुपर्ने अवस्था नआउने बताएको छ ।
गाडी दौडीरहेका छन्, गाडीभित्रको भीड उस्तै छ, चिया पसलदेखि सुन पसल, मासु पसल, मठमन्दीर, देखि सडकका व्यापार सबै चलिरहेका छन् उस्तै भिडभाडका साथ । बाटोमा हुने भिडको के कुरा गर्ने गल्लीहरुमा ठोक्किएर हिँड्न पर्छ मान्छेहरुसँग ।
उपत्यकाका विद्यालयहरु बन्द गर्ने निर्णय भए तर विद्यालय बन्द भएर बालबालिका त घरमा बस्लान् तर बालबालीकाका आमाबुवाका काम धन्दा बन्द भएका छैनन्, बन्द भए ती बालबालीका ले के खाने ? भन्ने प्रश्न पनि छ । के अब विद्यालय बन्द गर्दैमा बालबालीका सुरक्षित छन् भन्न सकिन्छ ?
देशका केही स्थानीय निकायले आफ्नो अधिकारको प्रयोग गरी लकडाउन तथा विभिन्न मापदण्ड लागू गरेका छन् । बाँकेमा लकडाउन प्रभावकारी भएको भन्ने समाचार आइरहेको छ, बाँकी देशभर उस्तै छ । कोरोना र मानिस त अघि कि म अघि भन्ने प्रतिस्पर्धाका साथ दौडिरहेका छन् ।
सर्वसाधारण पनि सरकारका लागि नियम पालना गर्दिए झैँ बुझ्छन् । साधारण जनता प्रहरी, ट्राफिक वा कोरोना सम्बन्धी अनुगमन गर्ने निकायका अघि मात्र मास्क लगाउने गरेको देखिन्छ । कोरोनाले आक्रान्त हुँदासम्म मानिसमा अझै चेतना छैन । आफ्नो स्वास्थ्यको सुरक्षाका लागि हो भन्ने कुरा बुझेर पनि नबुझेझैँ ट्राफिक र प्रहरीका लागि मास्क लगाइदिन्छन् । सेनिटाइजर लगाइदिएझैँ गर्छन् । यो बिडम्बना नै मान्नुपर्छ ।

बिश्वमा कोरोना महामारीले भयाबह स्थिति उत्पन्न गरिसकेको छ । यस्तै अवस्था रहिरहने हो भने पृथ्वीमा मानिसको अस्तित्व रहन मुस्किल छ । यसका लागि सबै मानिस आ–आफ्नो ठाउँबाट सतर्क र सचेत हुनु जरुरी छ । सर्वसाधारणले परिस्थितिको ख्याल गरेर गतिविधि गर्नुपर्ने देखन्छि । सरकारले पनि आफ्ना नागरिकको रक्षाका लागि कुनै पनि सम्झौता नगरी विकल्पहरु खोज्नुपर्छ । नेपालमा भारतसँगका सीमा नाका खुल्लै छन्, जताजतै भिडभाड उस्तै छ, राजनीतिक सभासमारोह चलिरहेका छन्, मेला जात्राका नाममा भिडभाड जारी छ । मानिसको अस्तित्व बचे संस्कार र संस्कृति बचाउँला भन्ने सोचले अघि बढ्नुपर्ने अवस्था छ । सरकारले समयमै प्रभावकारी कदम चालेर कोरोना नियन्त्रणको प्रयास गर्न कुनै कसर बाँकी नराखोस् । जनता रहे राजनीति रहला । बाँचिएमात्र अरु सबै रहला, त्यसैले बाँचन र बचाउन सरकार र जिम्मेवार निकाय लागोस् ।