समाचार

उपचुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

१० वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आगामी जेठ ६ गतेका लागि तोकिएको उपचुनावका लागि वैशाख २४ गतेसम्म दल दर्ता गर्न आयोगले आग्रह गरेको हो ।

बागमती प्रदेश अन्य समूहतर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगरको रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि छ महीनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले रिक्त पदको बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गर्ने कानूनी व्यवस्था छ ।