लुम्बिनी

आजदेखि महाराजगञ्ज एक हप्ताका लागि बन्द

१० वैशाख, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द गरिएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि कार्यालय बन्द गरिएको हो ।

नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले वैशाख १० देखि १७ गतेसम्म बन्द रहने सूचना प्रकाशित गरेको छ ।

नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका अन्य सेवा बन्द रहने नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्था यथावतरूपमा सञ्चालन हुने सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिए ।