पु.समाचार

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते

काठमाडौँ, ९ वैशाख । आगामी जेठ ६ गते बिहीबारका लागि राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुने भएको छ । वाग्मती प्रदेश अन्य समूहतर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगरको रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि छ महीनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले रिक्त पदको बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गर्ने कानूनी व्यवस्था छ ।

कानूनी व्यवस्थाबमोजिम सरकारको निर्णय अनुसार निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ यही वैशाख १० देखि १४ गतेसम्म आयोगमा निवेदन दिन सूचना गरिएको छ । उपनिर्वाचनको घोषणासँगै आयोगले आजदेखि उपनिर्वाचन तयारीसम्बन्धी कार्य प्रारम्भ गरेको पनि प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।