राजनीति

सरकारले कम्युनिष्टको नाममा कम्युनिस्टहरुकै बदनाम गरिरहेको छ : मोहन वैद्य

९ वैशाख, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सरकारले कम्युनिस्टको बदनाम गरिरहेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा विज्ञप्ति जारी गर्दै सरकारले कम्युनिस्टको नाममा कम्युनिस्टहरुकै बदनाम गरिरहेको आरोप लगाएका हुन् ।

उनले सरकारले गर्नुपर्ने कुनै पनि जिम्मेवारी पूरा नगरेको भन्दै कम्युनिस्ट सरकार नामधारी मात्र भएको बताएका छन् । वैद्यले सरकारकै कारण नेपालमाथि साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप बढेर गएको समेत आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘नवउदारवादको सिरानी हालेर तयार पारिएको साम्राज्यवादी आर्थिक नीति र त्यसैले प्रक्षेपण गरेको “सुखी नेपाली र समृद्ध नेपाल”को नारा फोस्रो गफ बन्न गएको छ । भ्रष्टाचारको सीमा छैन र सरकारका हस्तीहरू नै यसमा संलग्न रहेका छन् । सरकार कोभिड–१९को नियन्त्रणमा समेत उदासीन रहँदै आएको छ । वस्तुतः सरकारले कम्युनिस्टको नाममा कम्युनिस्टहरुकै बदनाम गरिराखेको कुरा स्पष्ट छ ।’