पु.समाचार

नेपाल कम्युनिष्ट पार्टीको आज ७२ औँ स्थापना दिवस, कोरोनाका कारण औपचारिक कार्यक्रम नहुने

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टीको आज ७२ औँ स्थापना दिवस हो । नेपालमा वि. सं. २००६ साल वैशाख ९ गते अर्थात आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आज पार्टी स्थापना भएकाे ७२ वर्ष पुगेकाे छ ।

पार्टी स्थापना दिवसको दिन विभिन्न कार्यक्रमको आयोजना हुने गरेपनि यसपटक भने कोरोना संक्रमणका कारण कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।

नेपालको पहिलो कम्युनिष्ट पार्टीको रुपमा भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए।

यस्तै निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ पनि संस्थापक नेता थिए । पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

५ जना संस्थापक नेताबाट सुरू भएको कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलब्धी र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा एमाले लगायत अन्य विभिन्न दलहरूका रूपमा अस्तित्वमा रहेका छन् ।