समाचार

माओवादी बैठकः समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई

८ वैशाख, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए । “समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले निर्णय गर्नुहुनेछ”, उनले भने, “जुन छिट्टै हुनेछ ।”

माओवादीले प्रतिनिधिसभा विघटन गरेसँगै वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहने बताउँदै आएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय संघीय संसद् सचिवालयलाई दिएको छैन । वैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ताको निर्णयमा पुग्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच बारम्बार द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि त्यसले आकार लिन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्यसमितिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ भने जसपाले पनि यसबारेमा स्पष्ट निर्णय लिइसकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘सरकारलाई सहयोग नगर्ने हो भने समर्थन फिर्ता लिन’ माओवादी केन्द्रलाई सार्वजनिकरूपमै आह्वान गरेका छन् । माओवादीले संसद् विघटनविरुद्ध एक ठाउँमा उभिएका विभिन्न राजनीतिक दलको सहभागितामा नयाँ सरकार बनाउने गरी छलफललाई तीव्रता दिएको छ ।

आजको बैठकले पार्टी सङ्गठन र भ्रातृ संगठनमा शुद्धीकरणको अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले केही दिनभित्र राजनीतिक प्रतिवेदन तयार गरी स्थायी समितिमा प्रस्तुत गर्ने र स्थायी समिति बैठकले त्यसलाई केन्द्रीय समितिको बैठकका निम्ति प्रस्तावका रुपमा लैजाने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले कोभिड–१९ को प्रकोपबाट सुरक्षित रहन आम जनसमुदायलाई अपिल गर्ने निर्णय गरेको छ । पार्टीको सम्पूर्ण कमिटी र पंक्तिलाई कोभिड–१९ विरुद्धको जनचेतना र जागरणको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ ।