पर्यटन/संस्कृति

श्रीरामचन्द्र मन्दिरमा पनि भक्तजनको घुइँचो

८ वैशाख, काठमाडौँ । श्रीराम नवमीका अवसरमा स्वास्थ्य सतर्कता अपनाउँदै भौतिक दूरी कायम गरेर भक्तजन राम मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि उपस्थित भएका छन् ।
राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर लगायत देशभरका राम मन्दिरमा भक्तजन सतर्कतासाथ पुगेका हुन् । रामनवमी पर्वका अवसरमा बिहान चार बजेदेखि नै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन एवं पुनःनिर्माण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए । कोरोना जोखिमका कारण श्रीरामचन्द्र शोभायात्रा र भजन कीर्तन स्थगित गरिएको छ । श्रद्धाभावसाथ मन्दिर आउने भक्तजनलाई २५÷२५ जना गरेर मन्दिरभित्र प्रवेश गराई पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको उनले सुनाए ।
यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं.–९ स्थित आरुबारीमा रहेको श्रीरामचन्द्र मन्दिरमा पनि भक्तजनको घुइँचो छ । भक्तजन उपस्थित भएका मन्दिरमा सरकारले जारी गरेको मापदण्ड बमोजिम एकपटकमा २५ जनाभन्दा बढी भक्तजनलाई दर्शनका लागि लाममा नराखिएको मन्दिर व्यवस्थापन समितिले जनाएका छन् । मन्दिर प्रवेश गर्ने भक्तजनलाई मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ । मास्क नलगाउनेलाई प्रवेश दिइएको छैन ।
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारी पुग्छन् ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पुरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायण लगायत ग्रन्थमा उल्लेख गरिएको छ । उनको जन्म भएको सम्झनाका आधारमा रामनवमी पर्व मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।
यस अवसरमा आज राम मन्दिर एवं घर घरमा रामायण पाठ गरिन्छ । मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रका गुणको विवेचना गरिनुका साथै तिनलाई अनुसरण गर्ने वाचासमेत गरिन्छ ।

अयोध्यापुरीमा सीतारामको मूर्ति
श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित मंगलबार त्यसतर्फ लगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।
बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।
रथयात्रा समूह मङ्गलबार देवघाटमै बास बसेको थियो । श्रीरामनवमीका दिन आज बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीमा पुगेको छ । आज मध्याह्न १२ः ३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको उनले सुनाए । प्रतिस्थापन एवं प्राण प्रतिष्ठापछि पूजा आराधना, भजन, कीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ ।
यात्रामा संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायत कोषका पदाधिकारी सहभागी भएको जनाइएको छ । गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।