पर्यटन/संस्कृति

आज रामनवमी पर्व मनाइँदै, अयोध्यापुरीमा सीतारामको मूर्ति स्थापना

८ वैशाख, काठमाडौं । आज श्रीरामनवमी पर्व देशभर पूजाआरधना गरी मनाइँदैछ । चैत्र शुक्ल पक्षको नवमी तिथीमा पर्ने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजाआजा गरी मनाइन्छ ।

हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यस दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्री राम का साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइने गरेको हो ।

हिन्दू धर्मावलम्बीहरू रामनवमीका दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ ।

श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ। प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित आज त्यसतर्फ लगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए।

बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए। रथयात्रा समूह मंगलबार देवघाटमै बास बसेको छ। श्रीरामनवमीका दिन बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढ्ने छ।

बुधबार मध्याह्न १२ः३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको उनले सुनाए। प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ।

यात्रामा संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायत कोषका पदाधिकारी सहभागी भएको जनाइएको छ। गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए।