समाचार

भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन २ हजार बढीको मृत्यु

काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस संक्रमणबाट दुई हजार बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार २० संक्रमितको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बुधबार बिहानसम्ममा एक लाख ८२ हजार पाँच सय ७० पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा दुई लाख ९४ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहानसम्ममा भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार पाँच सय बढी छ । भारतमा हालसम्म एक करोड ५६ लाख नौ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने संक्रमित मध्ये एक करोड ३२ लाख ६९ हजार भन्दा बढी संक्रमित निको भइसकेका छन् ।