पर्यटन/संस्कृति

आज देशभर चैते दशैं मनाइँदै, ५४ बोका र ५४ राँगाको बलिसहित हनुमानढाेकामा पूजा

काठमाडौं । नवदुर्गा भगवतीको पूजा गरी आज नेपालीहरुले चैते दशैं मनाउँदैछन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं आज नवदुर्गा भगवतीको पूजा गरी मनाइँन्छ ।

आजको दिन हनुमानढोकाको दशैंघरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिइन्छ । बडा दशैंमा १०८ बोका र १०८ राँगाको बलि दिई पूजा गरिने हनुमानढाेकामा आज ५४ बोका र ५४ राँगाको बलि दिइन्छ । 

चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ।

आज काठमाडौंका गुहृयेश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा विशेष पूजाआरधना गरिन्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गर्ने परम्परा रहेको छ ।