पु.समाचार

थप एक हजार २८१ जनामा कोरोना पुष्टि, आठ सङ्क्रमितको मृत्यु

६ वैशाख, काठमाडौँ । थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

थप सात हजार एक जनाको पिसिआर परीक्षण गर्ने क्रममा एक हजार २८१ जनामा तथा ५४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ५२ हजार ५०२ जना पुगेको छ ।

हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ६३४ जना रहेका छन् । काठमाडौँ ५०५, ललितपुर ९७ तथा भक्तपुरमा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म दुई लाख ७५ हजार ५५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । हाल सात हजार २५४ सङ्क्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय आठ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ९१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।