पु.समाचार

सेनाले नाइट भिजन हेलीप्याड निर्माण गर्दै

६ बैसाख, काठमाडौं । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ ।
जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हुँदै आएको छ । हेलिप्याड निर्माण भएपछि रातिसमेत हेलिकप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका प्रमुख सेनानी कृष्णकञ्चन बस्नेतले जानकारी दिए ।

उनले शारदा नगरपालिकाको आर्थिक सहयोगमा गणको हाताभित्र नाइटभिजन हेलिप्याड निर्माण गर्न लागिएको बताए । “जिल्लामा अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण राति हेलिकप्टर अवतरण हुन नसकेकाले उद्धार तथा व्यवस्थापनमा ढिला हुँदै आएको छ । हेलिप्याड निर्माण भएपछि राति हुने विपद्का घटनामा हेलिकप्टर प्रयोग गरी उद्धार गर्न सहज हुनेछ”, उनले भने ।

सेनाले जिल्लाका छ स्थानीय तहमा हेलिप्याड निर्माण गरेको छ । ती हेलिप्याडमा दिउँसो मात्रै हेलिकप्टर अवतरण हुन्छन् । राति अवतरण हुनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले नगरपालिकाले रु पाँच लाख उपलब्ध गराएको जनाइएको छ । हेलिप्याड निर्माण गर्न बाँकी स्थानीय तहमा समेत निर्माणका लागि स्थानीय जनप्रतिनिधिसँग आवश्यक समन्वय भइरहेको प्रमुख सेनानी बस्नेतले जानकारी दिए ।