समाचार

प्रजातन्त्रका लागि लडेका पूर्वमन्त्री सुवालको निधन

काठमाडौं । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । आइतबार साँझ आफ्नै निवास झोछेँमा ९३ वर्षको उमेरमा सुवालको निधन भएको हो ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक सुवाल लामो समय नेपाली कांग्रेसमा रही राजनीतिमा सक्रिय थिए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि भएका थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे ।

उनकी श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।