राजनीति

पूर्व राजा ज्ञानेन्द्रको भारत भ्रमण, के फर्केला राजसंस्था ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह करिब दुई साता लामो भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । भारतको उत्तराखण्डस्थित हरिद्धारको महाकुम्भ मेलामा हिन्दू सम्राटको हैसियतमा चैत २६ गते भारत प्रस्तान गरेका शाह आइतबार नेपाल फर्किएका हुन् ।

के फर्केला राजसंस्था ?

भारत भ्रमण सकेर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह केही उत्साहित मुद्रामा देखिएका छन् । आइतबार विमानस्थलमा आफूलाई स्वागत गर्न आएका शुभचिन्तकहरुसँग कुरा गर्दा पूर्वराजा शाह भारत भ्रमणबाट सन्तुष्ट भएको देखिएका थिए ।

दुई हप्ता लामो भारत बसाइबाट फर्किएका पूर्वराजाका बारेमा केही सञ्चार माध्यममा बहस देखिन्छ । केही सञ्चार माध्यमले भारत भ्रमण पूर्वराजा शाहका लागि फलदायी भएको अर्थात राजसंस्था फर्काउन भारतबाट केही आश्वासन पाएको हो कि भन्ने आशंका व्यक्त समेत गरेका छन् ।

भारतमा पूर्वराजा शाहले के के गरे ?
२६ गते भारत प्रस्तान गरेका शाहले २७ गते नयाँ दिल्लीमा केही विशेष भेटघाट गरे । उनी चैत २८ गते दिउँसो हरिद्वार पुगे । चैत २९ गते उनले माँ दक्षिणकालीको पूजा अर्चना गरे ।

चैत ३० गते सोमबारे औंसीको दिन हरिद्वारको गंगा किनारमा हजारौं साधुसन्तका बीचमा शाहले स्नान गरे । त्‍यसपछि अखडादेखि गंगाको हर्किपौरीसम्‍म रथारोहण गरे । ३१ गते बिहान पतञ्जली योगपीठमा गएका उनले बाबा रामदेवसँग ध्यान, योग र आयुर्वेदको महत्वबारे छलफल गरेका थिए । वैशाख १ गते दिल्ली फर्किएका पूर्वराजा शाह ४ गतेसम्म त्यहीँ बसे र ५ गते नेपाल फर्किए ।

पूर्वराजा शाह होम क्वारेन्टाइनमा

पूर्वराजा ज्ञानेन्द्र शाह गएको महाकुम्भ मेलामा भएका मानिसमध्ये हजारौँलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको समाचार सञ्चार माध्यममा आइरहेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार भारतमै कोरोना परीक्षण गराएर नेपाल फर्किएका भए पनि केही दिन होम क्वारेन्टाइनम बस्ने बताइएको छ ।