पु.समाचार

रुद्रमती किनारको एक रोपनी आठ आना सार्वजनिक जग्गा अतिक्रमण

५ बैसाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।
कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौँ महानगरपालिका–११ कार्यालयले जनाएको छ । सरकारी जग्गा हडप्ने डोटेललाई जग्गा खाली गर्न र भाडामा राखेको मान्छे अन्यत्र सार्न वडा कार्यालयबाट पत्राचार गरी प्रक्रिया अघि बढाइएको वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए ।
मालपोत र नापी कार्यालयबाट दुवै कित्ताका सार्वजनिक जग्गाको निस्सा प्रमाण लिएर चालु आर्थिक वर्षमै उद्यान निर्माण गर्न लागिएको उनले बताए । एक हप्ताभित्र जग्गा खाली गर्न जनप्रतिनिधिले समयसीमा दिएको कार्यालय जनाएको छ । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ एक हप्ताभित्र अतिक्रमित सार्वजनिक जग्गा नछोडे आफ्नो नेतृत्वमा डोजर प्रयोग गरेर खाली गराउने बताउछन् । सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सबै जनप्रतिनिधि र स्थानीयवासी एक हुनुपर्नेमा जोड दिइएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतका सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध अभियान चलाएर खाली गराउन लागिएको उनले जानकारी दिए । अन्यत्र पनि यसरी जग्गा अतिक्रमण गरिएको जानकारी गराउन प्रदेशसभा सदस्य श्रेष्ठले स्थानीयवासीमा आह्वान गरेका छन् ।