समाचार

चितवन राष्ट्रिय निकुञ्जमा ९ महिनामा ३० गैंडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । २६ वटा प्राकृतिक कारण र चारवटा चोरीशिकारी गरी नौ महिनामा ३० गैंडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ ।

प्राकृतिक कारणले मरेका गैँडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ । हालै गैँडा गणना भएपछि कुन क्षेत्रमा कति गैँडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन ।