सुदूरपश्चिम

अझै भेटिएनन् सेती नदीमा बेपत्ता भएका युवक

डोटी । सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवक अझै फेला परेका छैनन् । शनिबार दिउँसो बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अहिलेसम्म नभेटिएका हुन् ।

उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “युवक बगेर बेपत्ता भएको खबर पाएदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजी जारी राखेका छौँ, अहिलेसम्म फेला पार्न सकेका छैनौँ ।”

दिपायल सिलगढी नगरपालिका–४ दिपायल पिपल्ला नजिक रहेको सेती नदीमा शनिबार नुहाउँदै गर्दा बोगटी एकाएक बेपत्ता भएका थिए । “कपडा नदीको किनारामा भेटिएको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन्”, इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले भने, “हामीले हिजो रातिसम्म नदीमा खोज्यौँ, कतै फेला पारेनौँ, अहिले पनि खोजीमा टोली खटिएको छ, खोजी जारी छ ।” नदीमा पानी धमिलो भएका कारण पनि खोजी कार्यमा केही कठिनाइ भएको उहाँको भनाइ छ ।